राजनीति

विभिन्न पार्टीद्वारा राहत तथा उद्धारमा खट्न आग्रह

<br>

निरन्तरको वर्षापछि उत्पन्न विपद्को अवस्थामा उद्धार तथा सहयोगका लाग्न विभिन्न पार्टीले आग्रह गरेका छन्। नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दल, सामाजिक संघ–संस्था तथा नागरिक समाजलाई विपद्का समयमा  एकताबद्ध भएर उद्धार र राहत कार्यमा जुट्न अपिल गरेका छन्। 

अध्यक्ष दाहालले शनिबार विज्ञप्ति जारी गरी  मुलुकले सामना गरिरहेको विपद्मा तीनै तहका सरकारलाई युद्ध स्तरमा समन्वय र नेतृत्व गर्न तथा त्यसमा सहयोग गर्न पार्टी पङ्क्तिलगायत सबैलाई आग्रह गरेका छन्। 

यस्तै, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उच्च जोखिममा रहेका जनताको उद्धार तथा सहयोग उपलब्ध गराउन आग्रह गरे। उनले आज एक सन्देश जारी गर्दै विपद्मा परेका जनतालाई आवश्यक सहायता उपलब्ध गराउन सरोकार भएका निकायलाई आग्रह गर्दै जोखिममा परेकाको उद्धार तथा क्षति न्यूनीकरणमा आवश्यक सहयोग गर्न नेता तथा कार्यकर्तालाई पनि आग्रह गरे। 

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पीडित नागरिकको उद्धार कार्यमा सक्रिय रूपमा जुट्न राप्रपाका सबै तहका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्। आज एक विज्ञप्ति जारी गर्दै उनले बर्सातबाट पुग्न गएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै विपद्को यस घडीमा आफू सुरक्षित रही उद्धारमा सक्रिय रहन सबैलाई आग्रह गरे।

यसै गरी जनता समाजवादी पार्टी (जसपा) ले पनि वर्षासँगको बाढी पहिरो तथा डुबानका कारण उत्पन्न विपद्को सामनाका लागि उद्धार, राहत तथा सहयोगमा जुट्न आग्रह गरेको छ। पार्टीका उपमहासचिव प्रदीप यादवले आज एक अपिल जारी गर्दै पार्टी नेता कार्यकर्तालाई आआफ्नो क्षेत्रमा विपद् न्यूनीकरण तथा उद्धारका काममा लाग्न आग्रह गरे।

प्रकाशित: १८ आश्विन २०८२ २२:४३ शनिबार