नेकपा (एकीकृत समाजवादी) का नेता तथा समाजवादी मोर्चाका सदस्य वामदेव गौतमले देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध चाँडै नै सडकमा ठूलो प्रदर्शन गर्ने घोषणा गरेका छन्।
उनले वर्तमान सरकारले देशलाई बर्बादीतर्फ लगेको आरोप लगाउँदै त्यसको विरुद्धमा सशक्त आन्दोलनको तयारी भइरहेको जानकारी दिए।
मंगलबार नेकपा एसको पार्टी कार्यालय, आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता गौतमले मोर्चाको आगामी रणनीतिको खुलासा गरेका हुन्।
‘बैठकमा अहिलेसम्म गरेका कामहरूको समीक्षा भयो र सकेसम्म छिट्टै एउटा ठूलो प्रदर्शन गर्ने निर्णय भएको छ,’ गौतमले सुनाए।
आन्दोलन केका विरुद्ध हो भन्ने पत्रकारको प्रश्नमा उनले स्पष्ट पारे, ‘भ्रष्टाचारको विरुद्ध, बेथितिको विरुद्ध र देशलाई बर्बाद गरेको तर्फ गइरहेको यो सरकारको विरुद्ध।’
उनले मोर्चाभित्र कुनै विवाद नरहेको र सबै दलहरू एकढिक्का भएर अघि बढ्ने पनि बताए। बैठकमा मोर्चालाई थप क्रियाशील बनाउने र सहमत हुन सक्ने अन्य वामपन्थी शक्तिहरूलाई पनि सामेल गराउने विषयमा छलफल भएको थियो।
प्रकाशित: १३ श्रावण २०८२ १९:१० मंगलबार