नेकपा एमालेकी नेतृ उषाकिरण तिम्सेनाले पार्टीमा रूपान्तरण र पुस्तान्तरणको विषयमा बहस हुँदा केही व्यक्तिबाट अश्लील र स्त्रीद्वेषी अभिव्यक्ति आएको बताएकी छिन्।
नेकपा एमालेभित्र नेतृत्वको कार्यशैली र विशेष गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीको विरोध गर्दै आएकी भन्दै उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरण गर्दा पनि अब एमाले कस्तो हुन्छ ? त्यो पनि अनिश्चित छ। कुनै विषयमा छलफल गर्दा एमालेका केही व्यक्ति र खासगरी नेताका अघिपछि लागेर हिँड्नेहरूको अभिव्यक्ति हदसम्मको अश्लील, अराजनीतिक र स्त्रीद्वेषी देखेको छु। तपाईंहरूको चेतना टिप्पणी लायक वा समाजका अगाडि भन्न लायक त छैन, तर नेताका अघिपछि लाग्नेहरूको चेतना यो स्तरको हुनु विडम्बनापूर्ण छ। केही स्क्रिनसटहरू प्रहरीको साइबर ब्युरोमा बुझाउने नै छु।’
आफूले गरेका सबै कुराको राजनीतिक जिम्मा लिने भन्दै उनले थप भनेकी छिन्, ‘दुई हात र दुई खुट्टामा उभिनु भएका तपाईंहरू र पार्टीकै समर्थकहरू, मैले गरेका सबै कुराको राजनीतिक जिम्मा म लिन्छु। पार्टीले गर्ने निर्णयसँग गुनासो गर्ने छैन। सकेसम्म राजनीतिक भाषा र यथार्थ बोल्ने प्रयत्न गर्छु र गरेको छु। तपाईंहरूलाई फेसबुक लगायत सामाजिक सञ्जाल कसैलाई व्यक्तिगत आक्षेप नलगाई चलाउन जो कोहीले पाउँछ भन्ने हेक्का रहोस्। आजको दुनियाँमा मिडियामा बोल्न सबै जना स्वतन्त्र छन् वा बोल्न पाउने अधिकार संविधानतः सुरक्षित छ भन्ने पनि थाहा पाउनुस्।’
उनका अनुसार पार्टीभित्रको लोकतन्त्र कमजोर भएका कारण आज एमाले कमजोर परिस्थितिमा पुगेको छ। उमेर, पदावधि र हरेक हिसाबले समय बितेका नेताहरूबाट अब पार्टी वा आन्दोलन अगाडि बढ्दैन। उनले अरूलाई अपशब्द लेख्नुअघि गम्भीर हुन आग्रह गरेकी छिन्। २०५९ सालमा अनेरास्ववियुमार्फत एमालेको संगठित सदस्यता प्राप्त गरेकी नेतृ उषाकिरण तिम्सेना पार्टीभित्र कुनै ठूलो पद वा अवसरको लोभले नभई परिस्थितिबस राजनीतिमा आएको स्पष्ट पारिन्।
उनले २०६० सालमा सरस्वती क्याम्पसमा भएको स्ववियु निर्वाचनमा कोषाध्यक्षको उम्मेदवार बन्ने अवसरबाट आफूलाई रोक्न खोजिएको प्रसंग उल्लेख गर्दै त्यसबेला साथीहरूको समर्थन र संघर्षका कारण नै आफू अगाडि बढ्न सकेको बताइन्। पार्टीभित्र जिल्ला कमिटी सदस्य हुनबाट रोक्न धेरै प्रयास भए पनि आफू निरन्तर संघर्ष गर्दै नवौँ महाधिवेशनमा निर्वाचित र दशौँ महाधिवेशनमा सहमतिका आधारमा प्रतिनिधि बनेको उनको भनाइ छ।
हेर्नुस् उनको फेसबुक स्टाटस
मैले एमालेको संगठित सदस्यता अनेरास्ववियुमार्फत प्राप्त गरेँ, २०५९ सालमा। संयोगवश अमृत बोहराले शपथ गराउनुभएको थियो। त्यतिबेला अखिल अध्यक्ष राजेन्द्र राई हुनुहुन्थ्यो। आजकल एमाले हुनुहुन्न वहाँ, एमालेमा ‘देवता’ भन्दा ठुला नेता छन् भनेर म एमाले भएको पनि होइन। प्रारब्ध यस्तै रहेछ भन्नु पर्ला। ‘ठुलै’ मान्छे भइएला, सांसद/मन्त्री खाइएला भनेर लागेको पनि होइन। परिस्थिति त्यस्तै पर्यो र यहाँसम्म आइपुगेँ।
२०६० सालमा सरस्वतीमा स्ववियु निर्वाचनमा कोषाध्यक्षको उम्मेदवार बन्नबाट रोक्न खोजिएको थियो , मेरो सट्टामा आजकल म फुपू भन्छु, मेरी साथी नारायणी देवकोटालाई उठाउन खोजेका थिए। फुपूले ‘उषा मभन्दा बढी सक्रिय छ, म किन उठ्ने?’ भनेपछि म उठेको थिएँ। नुवाकोटको जिल्ला कमिटी सदस्य हुनबाट रोक्न पार्टीका ‘ठुलै’ कमरेडहरू लाग्नु भएको थियो , नसक्नु भएको हो । नवौँ महाधिवेशनमा चुनाव जितेर प्रतिनिधि भएको थिएँ, दशौँमा सहमतिमा बल्ल प्रतिनिधि भएको हुँ।
पार्टीभित्रको लोकतन्त्र कमजोर भएका कारण आज एमाले कमजोर परिस्थितिमा पुगेको छ।
उमेर, पदावधि र हरेक हिसाबले समय बितेका नेताहरूबाट अब पार्टी वा आन्दोलन अगाडि बढ्दैन।
रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरण गर्दा पनि अब एमाले कस्तो हुन्छ? त्यो पनि अनिश्चित छ। कुनै विषयमा छलफल गर्दा एमालेका केही व्यक्ति र खासगरी नेताका अघिपछि लागेर हिँड्नेहरूको अभिव्यक्ति हदसम्मको अश्लील, अराजनीतिक र स्त्रीद्वेषी देखेको छु। तपाईंहरूको चेतना टिप्पणी लायक वा समाजका अगाडि भन्न लायक त छैन, तर नेताका अघिपछि लाग्नेहरूको चेतना यो स्तरको हुनु विडम्बनापूर्ण छ। केही स्क्रिनसटहरू प्रहरीको साइबर ब्युरोमा बुझाउने नै छु।
र दुई हात र दुई खुट्टामा उभिनु भएका तपाईंहरू र पार्टीकै समर्थकहरू, मैले गरेका सबै कुराको राजनीतिक जिम्मा म लिन्छु। पार्टीले (आधिकारिक कमिटीले) गर्ने निर्णयसँग गुनासो गर्ने छैन। सकेसम्म राजनीतिक भाषा र यथार्थ बोल्ने प्रयत्न गर्छु र गरेको छु। तपाईंहरूलाई फेसबुकलगायत सामाजिक सञ्जाल कसैलाई व्यक्तिगत आक्षेप नलगाई चलाउन जो कोहीले पाउँछ भन्ने हेक्का रहोस्। आजको दुनियाँमा मिडियामा बोल्न सबै जना स्वतन्त्र छन् वा बोल्न पाउने अधिकार संबिधानत सुरक्षित छ भन्ने पनि थाहा पाउनुस्।
र अरूलाई अपशब्द, अश्लील जे कुरा लेख्नु अघि जो कसैले यही कुरा आफ्ना छोरी चेलीलाई लेख्यो भने कस्तो लाग्ला? आफैँलाई लेख्यो भने के होला ? मनपरी लेख्दा त्यही शब्द तपाईंलाई लेखे भने कस्तो लाग्ला? एकपटक सोचेर लेख्नु होला , एकपटक सोच्नुस् त ।
सबै खाले राजनीतिक प्रतिक्रिया र विचारलाई स्वागत छ।
लालसलाम । 🙏
प्रकाशित: ५ भाद्र २०८३ ०७:५६ शुक्रबार