राजनीति

रास्वपा सभापतिसँग भारतस्थित अमेरिकी राजदूतको फोन संवाद: नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक

हालैको निर्वाचनमा सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भारतका लागि अमेरिकी राजदूत तथा दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जियो गोरले टेलिफोन संवाद गरेका छन्।

नेपालस्थित अमेरिकी दूतावासले बुधबार जारी गरेको जानकारीअनुसार मंगलबार भएको उक्त कुराकानीमा गोरले लामिछानेलाई टेलिफोन गरी निर्वाचनमा प्राप्त जितका लागि बधाई दिएका हुन्। 

विशेष दूत गोरले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न अमेरिका उत्सुक रहेको बताएका छन्। उनले दुई देशबीचको आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने र दशकौँ पुरानो मित्रतालाई अझ गहिरो बनाउने अमेरिकी प्रतिबद्धता व्यक्त गरेको दूतावासले जनाएको छ।

गत जनवरीमा भारतका लागि अमेरिकी राजदूतको जिम्मेवारी सम्हालेका गोरले दक्षिण तथा मध्य एसियाली मामिलाका लागि विशेष दूतको रूपमा दोहोरो जिम्मेवारी सम्हालिरहेका छन्। 

गत डिसेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालसहित विभिन्न देशमा रहेका अमेरिकी राजदूतहरूलाई फिर्ता बोलाएका थिए। त्यसयता नेपालस्थित अमेरिकी दूतावास राजदूतविहीन अवस्थामा छ।

प्रकाशित: ११ चैत्र २०८२ ११:४७ बुधबार