राजनीति

धुर्मुसलाई राजनीतिमा आउन आग्रह गर्दै हर्कले भने- मन मिले टिकट दिन्छु

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ लाई राजनीतिमा आउन आग्रह गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत साम्पाङले धुर्मुसलाई आफ्नो पार्टीमा सामेल हुन आह्वान गर्दै निर्वाचनका लागि टिकट दिने प्रस्तावसमेत गरेका हुन्।

साम्पाङले लेखेका छन्, ‘धुर्मुस जी, मन मिले म तपाईंलाई एउटा टिकट दिनेछु ! अब राजनीतिमा आउनुस् !’

पछिल्लो समय कलाकार कट्टेल भरतपुरमा निर्माणाधीन गौतम बुद्ध रङ्गशालाको विषयलाई लिएर सरकारी निकाय धाइरहेका छन्। जेन-जी आन्दोलन पछि बनेको अन्तरिम सरकारसँग उनी आशावादी देखिएका छन्।

हाल उनको सामाजिक सञ्जालमा पनि प्रशंसा भइरहेको छ। केहीले उनलाई राजनीतिमा आउन सुझाव दिइरहेका छन्। यही पृष्ठभूमिलाई लक्षित गर्दै साम्पाङले उनलाई आफ्नो पार्टीमा भित्र्याउने इच्छा देखाएका हुन्।

मेयर साम्पाङ पछिल्लो समय आफ्नो श्रम संस्कृति पार्टी विस्तारमा सक्रिय छन्। उनले सामाजिक सञ्जालमार्फत पार्टीका आगामी कार्यक्रमहरू सार्वजनिक गर्नुका साथै आफूले बहुमत पाए देशमा ‘औजारको क्रान्ति’ ल्याउने र गरिब-दुःखीका दिन फर्काउने जस्ता महत्त्वाकाङ्क्षी घोषणाहरू गरिरहेका छन्।

उनले लेखेका छन्, ‘मलाई नेपाली जनताले अनुमोदन गरेर श्रम संस्कृतिलाई सत्ता सुम्पिदिए कसम यो माटोको, विश्व चकित हुने गरी औजारको क्रान्ति ल्याइदिन्छु म ! उत्पादन र निर्माणमा नेपाललाई कुनै मुलुकले भेट्ने छैन !’

प्रकाशित: १ मंसिर २०८२ १९:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App