राजनीति

जनकपुर पुगेर बालेनले भने- आजलाई शान्त भएर बसिदिनुस्, भोलि कार्यक्रम स्थलमै भेटौंला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले जनकपुर पुगेलगत्तै आफ्ना समर्थकहरूलाई शान्त रहन आग्रह गरेका छन्।

काठमाडौंबाट रास्वपा सभापति रवि लामिछानेसहित जनकपुर पुगेका शाहले जम्मा भएको भीडलाई संक्षिप्त सम्बोधन गरेका हुन्।

जननपुर विमानस्थलमा समर्थकहरुको धकेला धकेल हुँदा विमानस्थलको सिसाको ढोका नै फुटेको थियो।

उनले आफूलाई भेट्न र हेर्न आएका शुभेच्छुकहरूलाई देख्दा निकै खुसी र माया लागेको बताए।

भीडलाई सम्बोधन गर्दै उनले भने, ‘तपाईंहरूलाई भेट्न पाउँदा, देख्न पाउँदा एकदमै खुसी लागेको छ, साह्रै माया लागेको छ।’

भर्खरै जनकपुर आइपुगेको र भोलि (सोमबार) को कार्यक्रमका लागि केही योजना तथा व्यवस्थापनका कामहरू बाँकी रहेको उनले जानकारी गराए।

जिल्लाका सुरक्षा प्रमुखसँग सुरक्षा व्यवस्थापन र भोलिको कार्यक्रम सञ्चालनबारे छलफल गर्नुपर्ने भएकाले आज लामो कुरा गर्न नसक्ने उनले बताए।

बालेनले समर्थकहरूलाई अनुरोध गर्दै भने, ‘आजको लागि नआत्तिइकन शान्त भएर बसिदिनुहोला। भोलि कार्यक्रम स्थलमै सबैजना आउनुहोला, त्यहीँ भेटौँला।’

शाहले सम्बोधन गर्दा उनीसँगै रास्वपा सभापति रवि लामिछाने पनि उपस्थित थिए। भोलि जनकपुरधामस्थित तिरहुतिया गाछीमा (रास्वपा) ले कार्यक्रममा आयोजना गरेको छ।

प्रकाशित: ४ माघ २०८२ १८:३३ आइतबार