राजनीति

राष्ट्रको भविष्यसँग जोडिएको निर्णायक मोडमा आगामी निर्वाचन : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनलाई राष्ट्रको भविष्यसँग जोडिएको निर्णायक मोड भएको बताएका छन्। उनले निर्वाचित सरकार अपदस्त गर्ने प्रयासहरू भएको उल्लेख गर्दै अहिले फेरि प्रतिनिधि सभाको चुनाव हुन लागेको सन्दर्भमा मतदाताले 'बनाउने कि भत्काउने' बाटो रोज्नुपर्ने अवस्था आएको बताए।

आज एक भिडियो सन्देश जारी गर्दै उनले मतदातालाई देशको अखण्डता, राष्ट्रिय स्वाभिमान र संविधानको संरक्षणलाई पहिलो प्राथमिकता दिन आग्रह गर्दै आफूले राष्ट्रहितका विषयमा कहिल्यै सम्झौता नगरेको बताए।

ओलीले भने, ‘तर तपाईंलाई यो पनि थाहा छ- मैले यस देशको अखण्डताको सवालमा, यस देशको स्वाभिमानको सवालमा, यस देशको राष्ट्रियताको सवालमा कसैसँग कहिल्यै सम्झौता गरेको छैन र गर्दिनँ पनि।’

यस्तै अध्यक्ष ओलीले भ्रम फैलाउने प्रयासहरू भइरहेको उल्लेख गर्दै आफ्ना कमजोरीबारे प्रश्न उठ्न सक्ने भए पनि देशको हितमा स्पष्ट निर्णय गर्नुपर्ने समय आएको बताए।

उनले मतदातालाई 'देश पहिले' भन्ने भावनासहित स्पष्ट निर्णय गर्न आह्वान गर्दै राष्ट्रिय स्वाधीनता, स्वाभिमान र संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: १७ फाल्गुन २०८२ १२:२२ आइतबार