नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प नभएको बताएका छन्। यसैले निर्वाचनको तयारीमा जुट्न प्रचण्डले कार्यकर्तालाई निर्देशन समेत दिएका छन्।
शुक्रबार धनगढीमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले अहिलेको जटिल परिस्थितिको समाधान नै निर्वाचन रहेको दाबी गरे।
‘निर्वाचनको विकल्प देखेको छैन। राति बसेर देश त झण्डैझण्डै डुबिसकेको देखेर आएका हौँ,’ प्रचण्डले भने। भदौ २४ गते राति आफू राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा बसेको र त्यो रात निकै भयावह रहेको उनले बताए।
‘अहिले हामी चुनावतिर केन्द्रित हुँदै छौँ। त्यसको कुनै विकल्प नै छैन,’ उनले भने, ‘बिना दुबिधा निर्वाचनको वातावरण बनाउन अगाडी बढ्नुहोस्।’ सुरुमा निर्वाचनको पहल आफूले नै गरेको दाबी गर्दै उनले अहिले बिस्तारै अन्य दल पनि निर्वाचन उन्मुख हुन लागेको टिप्पणी गरे।
नेपाली काग्रेसले निर्वाचनमा जाने निर्णय गरिसकेको बताउँदै प्रचण्डले नेकपा एमाले ‘चिसै पानीले नुहाउने हो’ भनेझैँ गरेर बल्ल दल दर्तामा आएको बताए।
नेता नेपालले यसअघिको पार्टी एकीकरण र विभाजनबाट शिक्षा लिएर पार्टी एकीकरणलाई बलियो बनाउने बताए।
नेता भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देश जलेका बेला खरानी घसेर जनतालाई तर्साइरहेको आरोप लगाए। आफ्नो पार्टीलाई वृद्धाश्रम भनेकामा आपत्ति जनाउँदै उनले ओलीलाई प्रचण्ड र माधवसँग दौडेर प्रतिस्पर्धा गर्न चुनौती दिए।
सरकारविरुद्ध पनि आक्रामक सुनिँदै रावलले सरकारको काम निर्वाचन गर्ने मात्र भएको उल्लेख गर्दै दीर्घकालीन असर पार्ने काम नगर्न आग्रह गरे। लुटिएका हतियार खोजेर भयरहित वातावरणमा निर्वाचन गर्न सरकार चुकिरहेको पनि उनले बताए।
नेपाली कम्युनिस्ट पार्टीले जेन–जी आन्दोलनपछि पार्टी एकीकरण गरेर पहिलो पटक धनगढीमा शक्ति प्रदर्शनसहित ठुलो सभा गरेको हो।
प्रकाशित: १२ मंसिर २०८२ २०:०५ शुक्रबार