राजनीति

एकीकृत समाजवादी तीन टुक्रा, माधव नेपालले कति जना बोकेर एकतामा गए?

चार वर्षअघि नेकपा एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादी बुधवार विघटन हुँदै छ। अध्यक्ष नेपालले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्दा यो पार्टी ‘एकीकृत’ भने रहन सकेन। 

केही दिनअघि उनले पार्टी एकीकरणको निर्णय गर्दा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, पूर्व सचिव रामकुमारी झाँक्रीलगायतका नेताको फरक मत थियो। यद्यपि अध्यक्ष नेपालले केही केन्द्रीय सदस्य थपेरै बहुमत जुटाएर पार्टी एकताको निर्णय गराएका थिए। 

बुधवार माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका १० वाम दलले भृकुटीमण्डपमा एकता घोषणा सभा गरेर एकताको घोषणा गरिरहेका छन्। नेपालसँग रिसाएका एकीकृत समाजवादीका सम्मानित नेता खनाल अन्तिम समयमा एकता सभामा पुगेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको समन्वयमा त्यहाँ पुगेका खनालले घोषणा सभामा सम्बोधन गर्दा आफ्नै पार्टीका अध्यक्ष नेपाललाई भने सम्बोधन नै गरेनन्। 

यद्यपि घोषणा सभामा एकीकृत समाजवादी सङ्लो भने पुगेको छैन। बुधवार बिहानसम्मका दृश्यहरूमा उ तीन टुक्रामा विभक्त भइसकेको छ। 

पहिलो टुक्रा अध्यक्ष नेपालसहित वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, वरिष्ठ नेता बेदुराम भुसाल, प्रमेश हमाल, प्रकाश ज्वाला, जगन्नाथ खतिवडालगायतका नेतासहितका नेता एकतामा जोडिन गएका छन्। जसमा अन्तिम समयमा सम्मानित नेता खनाल पनि जोडिन पुगे।

अर्को टुक्रा महासचिव घनश्याम भुसालको नेतृत्वमा समूह बनाएर बसेको छ। जसमा वरिष्ठ नेता घनेन्द्र बस्नेत, नेताहरू विजय पौडेल, जीवनराम श्रेष्ठ, दामोदर अर्यालहरू छन्। उनीहरूले बुधवार बिहान पत्रकार सम्मेलन गरेर एकीकृत समाजवादीलाई नै पुनर्गठन गरेर क्रान्तिकारी पार्टी निर्माण गर्ने घोषणा गरेका छन्। 

उनीहरूले आगामी मंसिरमा राष्ट्रिय सम्मेलन गरेर अघि बढ्ने घोषणा गरेका छन्। 

अर्को टुक्रा रामकुमारी झाँक्रीको नेतृत्वमा संगठित भएको छ। जसमा निवर्तमान सांसद किसान श्रेष्ठ पनि सहभागी भएका छन्। दुवै जना नेतृत्वमा रहेका नेताहरूले बुधवार बिहान नै पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेका छन्। 

उनीहरूको नेकपा एमालेमा फर्किने तयारी छ। यद्यपि यो कुरा झाँक्रीले भने खुलाइनन्। तर, किसान श्रेष्ठले भने प्रस्टै खुलाए। ‘नेकपा एमालेमा फर्किन मन छ। मन भएर मात्रै भएन। उहाँहरूले लिइदिनु त पर्ला नि,’ उनले भने। 

श्रेष्ठले आफूहरूको एमालेमा फर्किने वातावरण भए बहुमत सांसद र कार्यकर्ता आफूसँगै फर्किने दाबी पनि गरे। 

प्रकाशित: १९ कार्तिक २०८२ १६:२२ बुधबार