राजनीति

एकीकृत समाजवादीद्वारा काठमाडौंमा केन्द्रीय कमिटी बैठक आह्वान

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी भदौ ८ गते काठमाडौंमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ।

पार्टीभित्रको वैचारिक विवाद, सङ्गठनको आन्तरिक द्वन्द्व समाधान गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको हो। पार्टीको सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग गरिने सहकार्यलगायत विषयमा निर्णय गरिने केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।

संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा पार्टीले सञ्चालन गरेका अभियानबारे समीक्षा गरिने बैठकमा पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी तथा कार्य प्रगतिको छलफल गरिने जनाइएको छ। केन्द्रीय महाधिवेशनले पारित गरेका कार्यभार तथा योजना कार्यान्वयन भए/नभएको मूल्याङ्कन गरिने उनले जानकारी दिए।

प्रकाशित: २४ श्रावण २०८२ ०६:५९ शनिबार