राजनीति

नेता तथा कार्यकर्तालाई एकीकृत समाजवादीको निर्देशन : पार्टीविरुद्ध नबोल्नू

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीको विधि र पद्धतिविपरीत टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।

पार्टीका केही जिम्मेवार नेता तथा कार्यकर्ताहरूले पार्टी हितविपरीत जथाभावी अभिव्यक्ति दिन थालेपछि पार्टीले सो निर्देशन दिएको हो।

पार्टी अनुशासन उल्लङ्घन गरी जनताप्रति भ्रम सिर्जना गर्ने गरी अभिव्यक्ति रोक्न तथा सामाजिक सञ्जालमा नलेख्न पार्टी नेता कार्यकर्ताहरूप्रति जनविश्वास कायम राख्न निर्देशन दिइएको केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले जानकारी दिए।

उनले पार्टीका अनुशासनविपरीत अभिव्यक्ति दिने काम अविलम्ब बन्द गरी पार्टी स्वाभिमानलाई कायम राख्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरे।

पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन भइसकेको अवस्थामा पार्टीका धारणा र निर्णयहरूप्रति आफ्ना सुझाव, टिप्पणी वा फरक मतलाई आफू सङ्गठित कमिटीको बैठकमा राख्नुपर्ने जनाइएको छ।

पछिल्लो समय पार्टीका शीर्ष नेताहरूबीच वैचारिक दृष्टिकोणमा विवाद बढेपछि नेता तथा कार्यकर्ताबाट फरक फरक अभिव्यक्ति विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आइरहेका छन्।

प्रकाशित: २७ श्रावण २०८२ ०६:४६ मंगलबार