राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ लाई तोकिएको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनेमा विश्वस्त रहेको बताएका छन् ।
निर्वाचन आयोगले तयार पारेको आर्थिक वर्ष २०८१–८२ का मुख्य काम, कारबाही र उपलब्धिहरू समावेश गरिएको उन्नाइसौँ वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपतिले निर्वाचनको वातावरण बारे आयोगका पदाधिकारीसँग जिज्ञासा राखेका थिए ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन बुझाउँदै प्रतिवेदनमा समावेश विषयको व्याख्या गरेका थिए ।
राष्ट्रपतिले आर्थिक वर्ष २०८१–८२ मा आयोगले सम्पादन गरेका कार्यको प्रशंसा गर्दै आयोगलाई धन्यवाद व्यक्त गर्दै आगामी २०८२ फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे ।
प्रतिवेदन पेश गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले सो अवधिमा मतदाता नामावली दर्ता तथा अद्यावधिक, स्थानीय तहका रिक्त ४४ पदमा उपनिर्वाचन, मतदाता शिक्षा र तालिम सञ्चालन, राजनीतिक दल दर्ता र अद्यावधिक जस्ता कार्यहरू सम्पन्न गरेको जानकारी दिए ।
उनले आयोगको कानूनी, संस्थागत तथा प्रणालीगत सुधारका लागि चौथो पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको बताए ।
साथै, प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई सफलतापूर्वक सम्पन्न गर्न आयोगले तयारी अघि बढाएको र यस कार्यमा राजनीतिक दल तथा सरोकारवालाहरूको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, कार्यक्रममा निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन सम्शेर जबरा, आयोगका सचिव महादेव पन्थ, राष्ट्रपतिका विज्ञ सल्लाहकारहरू तथा राष्ट्रपति कार्यालयका सचिव डा. दिपक काफ्लेको उपस्थिति रहेको थियो ।
प्रकाशित: ३१ आश्विन २०८२ १८:०१ शुक्रबार