राजनीति

तोडफोड र आगजनीमा संलग्नलाई सार्वजनिक गर्न एमालेका युवा नेताको माग

एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी । फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवानेताहरूले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।  

एमाले केन्द्रीय सदस्य तथा निवर्तमान मन्त्री भगवती न्यौपाने, पोलिटब्यूरो सदस्य शान्ता चौधरी, केन्द्रीय सदस्यहरू पार्वती रावल, अइन्द्रसुन्दर नेम्वाङ, गोविन्द थापा र एमाले शिक्षा विभाग सदस्य डा सुन्दरी पोखरेलले आज संयुक्त रूपमा विज्ञप्ति जारी गरी प्रदर्शनमा संलग्नमध्ये हालसम्म पक्राउ परेका र हालसम्म मुद्दा दायर गरिएकाको विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन् ।  

नेताहरूले लुटेका हातहतियार र गोलीगठ्ठा कति सङ्ख्यामा बरामद गरिन्छ, हरेक दिन विवरण सार्वजनिक गर्नुस् भन्दै त्यस्ता लुटेराहरूको विवरण र सरकारी तथा निजी घरमा आगजनी गर्ने, लुटपाट गर्ने व्यक्तिलाई सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।  

विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनमा अशान्ति फैलाउने, सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड तथा आगजनी गर्ने विभिन्न गिरोहहका नाइके र सदस्यलाई पक्राउ गरेर कारबाही गरिएको तथा उनीहरूविरुद्ध मुद्दा चलाइएको विवरण दिनहुँ सार्वजनिक गर्नुहोस् ।’

प्रकाशित: ८ कार्तिक २०८२ २०:५९ शनिबार