नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी चुनावबाट नभाग्ने तर वर्तमान राजनीतिक निकासका लागि विघटित प्रतिनिधि सभाको पुनर्स्थापना अनिवार्य रहेको बताएका छन्।
शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको परिस्थितिमा चुनावको हल्ला देशलाई अस्थिरतामा धकेल्ने षड्यन्त्र मात्र भएको बताएका हुन्।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले एमाले चुनावसँग नडराएको स्पष्ट पारे। उनले भने, ‘डर, त्रास र धम्कीमुक्त वातावरणमा चुनाव हुँदा बहुमत ल्याउने ल्याकत एमालेसँग छ। एमाले चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ।’ तर, अहिलेको अवस्थामा चुनावको कुरा गर्नु देशलाई थप अन्योलमा पार्ने चालबाजी मात्र भएको उनको जिकिर थियो।
अध्यक्ष ओलीले अनधिकृत व्यक्तिको सिफारिसमा प्रतिनिधि सभा विघटन गरिनु र संविधान विपरित सरकार गठन हुनुलाई अराजक र असंवैधानिक कदमको भएको बताए।
उनले भने, ‘जनताले चुनेका प्रतिनिधि बस्ने थलो विघटन गरेर लोकतन्त्र बलियो हुँदैन। हाम्रो माग स्पष्ट छ- प्रतिनिधि सभा तुरुन्त पुनर्स्थापना होस् र देश संविधान र लोकतन्त्रको बाटोमा फर्कियोस्।’
वर्तमान सरकारले निर्वाचन गराउने भन्दा पनि प्रतिशोध साँध्ने बाटो लिएको ओलीको आरोप छ। ‘यो सरकारले जेल र नेलको बाटो रोजेको छ,’ ओलीले आक्रोश पोख्दै भने, ‘संविधान मिचेर बनेको सरकारले चुनाव गराउँछु भन्नु नाटक मञ्चन मात्र हो। यो देशलाई भिडन्ततर्फ लैजाने गम्भीर षड्यन्त्र हो।’
प्रकाशित: २७ मंसिर २०८२ १५:२० शनिबार