राजनीति

बागमतीमा एमालेले संसदीय दलको नेता नफेर्ने

नेकपा एमालेले बागमती प्रदेशमा संसदीय दलको नेता परिवर्तन नगर्ने निर्णय गरेको छ। यससँगै संसदीय दलका नेता जगन्नाथ थपलिया नै बागमती प्रदेशको मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ।

शुक्रबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल तथा बागमती प्रदेशका सीमित नेताबीच भएको छलफलपछि संसदीय दलको नेतृत्व यथावत् राख्ने निष्कर्षमा पुगेको एमाले स्रोतले जनाएको छ।

बागमती प्रदेशका एमाले प्रमुख सचेतक एकलाल श्रेष्ठले मुख्यमन्त्री चयन पार्टीको विधि र पद्धतिअनुसार नै हुने स्पष्ट पारे। आफू पनि उक्त छलफलमा सहभागी भएको उल्लेख गर्दै उनले पार्टी अध्यक्ष र महासचिवसहितको बैठकले संसदीय दलको नेता परिवर्तन नगरी स्थापित प्रक्रियाअनुसार नै मुख्यमन्त्री चयन गर्ने निर्णय गरेको बताए।

पछिल्लो समय सञ्चारमाध्यम र राजनीतिक वृत्तमा संसदीय दलको नेता परिवर्तन गरेर किरण थापा मगरलाई मुख्यमन्त्री बनाउने चर्चा चलेको थियो। तर एमालेले संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने पार्टीको स्थापित परम्परालाई निरन्तरता दिने निर्णय गरेपछि ती अड्कलबाजी अन्त्य भएको छ।

यस निर्णयसँगै बागमती प्रदेश सरकारको नेतृत्व जगन्नाथ थपलियाले सम्हाल्ने बाटो खुलेको छ।

 

प्रकाशित: १६ श्रावण २०८३ १५:५० शनिबार