नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूको नाम आइतबार मात्रै पठाउने भएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली पितृशोकमा परेपछि पार्टीका अधिकांश नेता पशुपति आर्यघाट पुगेका कारण निर्वाचन आयोग नेपाल ले पठाएको पत्र हालसम्म कसैले नबुझेको बताइएको छ।
एमालेको निर्वाचन समन्वय संयन्त्रका नेता निरज आचार्यका अनुसार पार्टी अध्यक्ष शोकमा रहेका कारण पत्र आएको भए पनि आज र भोलि यसबारे कुनै निर्णय नहुने, तर आइतबारसम्म नाम पठाउन सकिने अवस्था रहेको छ।
उनले भने, “नाम पठाउनुअघि नेताहरूले कुनै तहको बैठक वा छलफल गर्नुहोला, त्यसपछि हामीलाई जे निर्देशन आउँछ, त्यहीअनुसार काम गर्छौँ।”
निर्वाचन आयोगले राजनीतिक दलहरूबाट प्राप्त हुने समानुपातिक प्रणालीतर्फका निर्वाचित उम्मेदवारहरूको नाम अद्यावधिक गर्दै सम्पूर्ण निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ। राष्ट्रपतिबाट उक्त प्रतिवेदन स्वीकृत भएपछि सांसदहरूको शपथ ग्रहणको तयारी सुरु हुने छ।
एमाले नेता आचार्यले भने, “हामी निर्वाचन आयोगको तालिकाभित्रै रहेर काम सम्पन्न गर्नेछौँ।”
प्रकाशित: २९ फाल्गुन २०८२ १८:०९ शुक्रबार