नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको शाख फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारीसहित मिसन जागरण अभियानको विस्तृत व्याख्यासहितको कार्ययोजना पठाएको छ।
पार्टीका सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारीसहित पठाइएको मिसन जागरणको अवधारणामा गत निर्वाचनको समीक्षा, पार्टीले हार व्यहोर्नुका कारण, कार्यकर्ता र जनताको पार्टीप्रति निराश हुनुका कारण आदि विस्तृत रूपमा केलाइएको छ। मुख्य गरी २०७४ को निर्वाचनमा वाम गठबन्धनका कारण उत्साहित भएका जनता माओवादीसँगको पार्टी एकता टिकाउन नसक्दा र पछि एमाले फुट्दा निराश भएर पलायन भएको पार्टीले पठाएको दस्तावेजमा उल्लेख गरिएको छ।
‘२०७४ को आम निर्वाचन र नेकपाको गठनबाट उत्साहित बनेको जनमत नेकपाको विघटन र एमालेको विभाजनबाट समेत निराश हुँदै क्रमश: वैकल्पिक शक्तितर्फ आकर्षित भएको हो,’ पार्टीले तयार गरेको मिसन जागरण अभियानको अवधारणामा भनिएको छ, ‘आकस्मिक रु अस्वभाविक रुपमा आम निर्वाचनबाट नेपालको राजनीतिमा मुख्य शक्तिका रुपमा स्थापित रास्वपा नेपालको अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो।’
पार्टी र पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामहरु जनस्तरसम्म प्रचार गर्न नसक्दा त्यसको असर आम जनतासम्म पुगेको एमालेको ठक्याइ छ। जसका कारण भदौ २३ र २४ गतेका विध्वंसकारी घटना भएको र मुलुकलाई नियोजित प्रतिगमनतर्फ धकेलिएको दस्तावेजमा उल्लेख गरिएको छ। पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार मिसन जागरण अभियानको जिम्मेवारी लिने नेताहरूले वर्तमान राजनीतिको पृष्ठभूमि, निर्वाचनको पराजयका कारण र पार्टीको भावी नीतिका बारेमा स्पष्ट होउन भन्ने उद्देश्यले विस्तृत र सरल भाषामा अवधारणा पत्र तयार गरिएको बताए।
उनका अनुसार पार्टीका नेताहरू विगतदेखिको राजनीतिक उतारचढाव, निर्वाचनपछिको पार्टीको राजनीतिको मूल्यांकन र भावी कार्यदिशाबारे स्पष्ट भएर उनीहरूले मातहतमा सही सन्देश प्रवाह गर्न सकुन् भन्ने पार्टी केन्द्रले सोचेको बताए। ‘पार्टी केन्द्रले पठाएको दस्तावेज सबै कमरेडहरूले विस्तृत अध्ययन गर्नुहुनेछ। पार्टी कमजोर हुनाका कारण, देशी विदेशीको चलखेल, निर्वाचनमा एमालेविरुद्ध अल्गोरिदमको प्रयोग जस्ता विषयहरू विस्तृत रूपमा व्याख्या गरिएको छ,’ आचार्यले भने, ‘एमालेले अब गर्नुपर्ने डिजिटल वार, त्यसको प्रयोग र जनतासँगको सम्बन्ध सुधार तथा कमिटी प्रणाली सञ्चालनका विधि समेत उल्लेख गरेर मिसन जागरणको डकुमेन्ट पठाएका छौं।’
जनतासँगको सम्बन्ध सुधारका लागि एमालेले ‘६ ज’को नीति अघि सारेको छ। जस अनुसार ‘जनतामा जाऔं, जनताका कुरा सुनौं, जनप्रिय बनौं, जनसंगठन परिचालन गरौं, जबजलाई आत्मसात गरौं र जनमत सर्वेक्षणका आधारमा समेत प्रत्येक तहमा प्रतिष्पर्धामा सफलता हासिल गर्न सक्ने योग्य र सक्षम नेतृत्व तयार गरौं।’ एमालेको दस्तावेजमा उल्लेख गरिएको छ।
एमालेले डिजिटल संगठन र प्रभावकारी प्रचारलाई प्राथमिकतमा राखेको छ। पार्टीले सामाजिक सञ्जालको व्यापक प्रयोग गर्न कार्यकर्तालाई निर्देशन जारी गरेको छ। उसले ‘अल्गोरिदम’ र ‘पर्सेप्सन म्यानेजमेन्ट’मा विशेष ध्यान दिन पनि कार्यकर्तालाई भनेको छ।
३१ पेजको सो अवधारणाा पत्रमा पार्टीका नेताहरुको जिम्मेवारी तोकिएको छ। प्रमुख आचार्यका अनुसार सबै केन्द्रीय सदस्यहलाई पालिकाको जिम्मेवारी दिइएको छ। केन्द्रीय सदस्यले नपुगेका ठाउँमा पार्टीका अन्य नेताहरूलाई समेत जिम्मेवारी दिइएको छ। जिम्मेवारी पाएका नेताहरू स्थलगत रूपमा खटेका छन् कि छैनन भनेर अनुगमनको पनि व्यवस्था गरिएको छ।
केन्द्रबाट खटिने नेताहरूलाई होटलमा भन्दा जनताको घरमै बस्न आग्रह गरिएको आचार्यले बताए। आचार्यका अनुसार यो अभियान र जिम्मेवारी आगामी स्थानीय तह र प्रदेशको निर्वाचनसम्म कायम रहने छ।
प्रकाशित: ३१ जेष्ठ २०८३ ०८:१४ आइतबार