नेकपा (एमाले) बागमती प्रदेशमा देखिएको आन्तरिक विवाद तत्कालका लागि सहमतिमा टुंगिएको छ। एमाले बागमती प्रदेश संसदीय दलले जगन्नाथ थपलियालाई संसदीय दलको नेताका रूपमा निरन्तरता दिँदै किरण थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो।
मंगलबार हेटौँडामा बसेको संसदीय दलको बैठकमा थपलियालाई दलको नेताबाट नहटाउने र थापालाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने सहमति जुटेको हो। बैठकमा एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतसहित प्रदेशका शीर्ष नेताहरू सहभागी थिए।
यसअघि साउन २७ गते एमालेकै १६ जना प्रदेशसभा सदस्यले थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै थापालाई संसदीय दलको नेता बनाउन माग गरेका थिए। पार्टी नेतृत्वको पहलपछि भने दलको नेतृत्व थपलियाकै हातमा रहने र सरकारको नेतृत्वका लागि थापालाई अघि बढाउने समझदारी बनेको हो।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) अनुसार बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्। दाबी पेश गर्ने समय बिहीबार अपराह्न ४ बजेसम्म तोकिएको छ।
एमाले–नेकपा गठबन्धनसँग हाल ५१ सांसद रहेको बताइएको छ। थापालाई मुख्यमन्त्री बनाउन थप दुई सांसदको समर्थन आवश्यक पर्ने भएकाले एमालेले अब राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीसँग समर्थनका लागि छलफल गर्ने तयारी गरेको छ।
एमालेभित्रको नेतृत्व विवाद सहमतिमा टुंगिएसँगै अब बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउनेतर्फ दलको ध्यान केन्द्रित भएको छ।
प्रकाशित: २ भाद्र २०८३ १७:१६ मंगलबार