राजनीति

एमाले सचिवालय बैठक: पदाधिकारीको मर्यादाक्रम प्रस्ताव पेस

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको छ।

सोमबार भक्तपुरको गुन्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा बसेको केन्द्रीय सचिवालय बैठकले भण्डारीलाई पुनः पार्टीको सक्रिय राजनीतिमा ल्याउने गरी सदस्यता दिने निर्णय गरेको हो।

यस निर्णयसँगै भण्डारीका लागि पार्टीको नेतृत्वदायी भूमिकामा आउने वैधानिक बाटो खुलेको छ।

बैठकमा महासचिव शंकर पोखरेलले पदाधिकारीको मर्यादाक्रम निर्धारणसहित ११ वटा साङ्गठनिक एजेन्डाहरू प्रस्तुत गरेका छन्। उपमहासचिव लेखराज भट्टका अनुसार महासचिव पोखरेलले पेस गरेका प्रस्तावहरूमा पार्टीको आन्तरिक सुदृढीकरण र आगामी कार्यदिशा समेटिएका छन्।

बैठकमा आम निर्वाचनपश्चात् गठित सरकारको कामकारबाहीको समीक्षा, पार्टी सदस्यता नवीकरण तथा विस्तार, र पदाधिकारी एवं सदस्यहरूको कार्यविभाजनसम्बन्धी प्रस्तावहरूमाथि छलफल भएको छ।

कार्यदल गठन र कार्यालय निर्माणको तयारी महासचिव पोखरेलले संविधान संशोधनका लागि आवश्यक सुझाव तयार पार्न ‘संविधान संशोधन सुझाव कार्यदल’ र निर्वाचनको विस्तृत समीक्षाका लागि ‘समीक्षा प्रतिवेदन तयारी कार्यदल’ गठनको प्रस्ताव राखे।

त्यस्तै, एमालेको केन्द्रीय कार्यालय भवन निर्माणको कार्यलाई अघि बढाउने विषयमा पनि विशेष प्रस्ताव पेस गरिएको छ। साङ्गठनिक संरचनालाई व्यवस्थित बनाउन नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठन गर्ने र सङ्गठन विभागमा तत्काल सदस्यहरू मनोनीत गरी कामलाई गति दिने एजेन्डामाथि पनि बैठकमा प्रारम्भिक छलफल भएको छ।

सोमबार प्रस्तुत गरिएका यी एघारवटै एजेन्डाहरूमाथि विस्तृत छलफल गरी निर्णयमा पुग्न एमालेले पुनः अर्को बैठक आह्वान गरेको छ। उपमहासचिव भट्टका अनुसार अर्को सचिवालय बैठक आगामी जेठ ८ गते बिहान साढे ११ बजे बस्ने गरी तय गरिएको छ।

प्रकाशित: ४ जेष्ठ २०८३ १९:०८ सोमबार