राजनीति

एमाले सचिवालय बैठक सर्‍यो

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सारिएको छ।

आइतबार बस्ने भनिएको पार्टीको ५८औँ सचिवालय बैठक अब आगामी शुक्रबार बस्ने तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिए।

अविरल वर्षाका कारण बाढीपहिरो र डुबान भएकाले बैठक सारिएको उनले बताए। एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्ने गरी तय गरिएको छ।

कार्यालय सचिव डा. अधिकारीका अनुसार सचिवालय बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने छ। यसअघि असोज १२ गते एमालेको सचिवालय बैठक बसेको थियो।

यसैबीच पार्टी महासचिव शङ्कर पोखरेलले आज सन्देश जारी गरी वर्षाका कारण बाढीपहिरो र डुबानमा राज्यका निकायसँग सहकार्य गरी उद्धारमा खट्न नेता कार्यकर्तालाई अनुरोध गर्नु भएको हो।

“भारी वर्षाका कारण बाढीपहिरो र डुवान जस्ता विपद् आउन सक्ने सम्भावना भएकाले सबैलाई पूर्वतयारीमा रहन अनुरोध गर्दछौँ। साथै, आवश्यकताअनुसार राज्यका निकायसँग सहकार्य गर्न स्थानीय पार्टी कमिटीलाई विशेष अनुरोध छ”, उनले भने।

प्रकाशित: १८ आश्विन २०८२ २०:०६ शनिबार