पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले सचिवालय बैठक डाकेको छ। एमाले सचिव महेश बस्नेतका अनुसार आज बिहान ८:३० बजे सचिवालयको बैठक बस्दैछ। उनले बैठकमार्फत अध्यक्ष ओली समातिएसँगै अब के गर्ने भन्नेबारे विस्तृत जानकारी दिइने बताएका छन्।
सामाजिक सञ्जालमा बस्नेतले ओलीको पक्राउलाई देशमा द्वन्द्व बढ्ने खतराका रूपमा चित्रण गरे। उनले बालेन सरकारले ‘सुधन गुरुङजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाएको’ भन्दै यो गिरफ्तारी राजनीतिक प्रतिशोध भएको टिप्पणी गरेका छन्।
उनले भनेका छन्, ‘राजनीतिक बन्दी नहुनु लोकतन्त्रको सूचक हो, तर पछिल्ला घटनाक्रमले चिन्ता बढाएको छ। सरकारी सम्पत्ति र आफ्नै चौकी जोगाउन नसक्ने प्रहरी लोकतन्त्रका लागि लडेका नेता समात्न हजारौंको संख्यामा खटिनु दुःखद छ।’
प्रतिशोधको राजनीतिबाट देश जोगाउन र लोकतन्त्रको रक्षाका लागि भन्दै उनले एमालेको तर्फबाट आजैदेखि सुरु हुने प्रदर्शनमा सहभागी हुन सबैलाई आह्वान समेत गरेका छन्।
हेर्नुस् बस्नेतको स्टाटस
राजनीतिक बन्दी नहुनु लोकतन्त्रको एक महत्वपूर्ण सूचक मानिन्छ। नेपाल विगतमा राजनीतिक बन्दी नभएको देशका रूपमा राम्रो उदाहरण मानिन्थ्यो। तर, पछिल्ला घटनाक्रमहरूले देशको राजनीतिक अवस्थाप्रति चिन्ता बढाएको छ।
बालेन सरकारद्वारा सुधन गुरुङजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ। यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छन्।
सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौँको संख्यामा खटिएको देख्दा दुःख लाग्छ।
प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य-मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौँ। आज बिहान ८:३० बजे बस्ने सचिवालयको बैठक पछि कार्यक्रमबारे विस्तृत जानकारी दिइनेछ।
प्रकाशित: १४ चैत्र २०८२ ०७:३० शनिबार