राजनीति

एमालेले भन्यो: स्थान हद कायम रहे चुनाव हुन्न, ‘लचक’ हुने सरकारको बाचा

भदौ २४ गतेको विध्वंसका क्रममा जलेको नेकपा एमालेको च्यासलस्थित मुख्यालयको साढे तीन महिनापछि सरकारले अवलोकन गरेको छ। मंगलबार सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिका तर्फबाट सञ्चार मन्त्री जगदीश खरेल, कानुन मन्त्री अनिल सिन्हा र प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनालसहितको टोलीले एमाले मुख्यालयको अवलोकन गरेको हो। 

सरकारका मन्त्रीहरू अवलोकनमा पुग्दा पार्टी कार्यालयमा एमाले महासचिव शंकर पोखरेललगायतका नेताले स्वागत गरेका थिए। सोही क्रममा भएको छलफलका क्रममा एमाले नेताहरूले नेताहरूलाई लगाएको स्थान हद कायम रहे निर्वाचनको वातावरण नबने र एमाले पनि सहभागी नहुने प्रस्ट पारेका थिए। 

जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौं उपत्यका नछाड्न स्थान हद लगाएको विषय एमालेले कडाइका साथ उठाएको हो। 

निर्वाचन विरोधी तत्त्व सरकार र प्रधानमन्त्रीकै वरिपरि रहेकाले पहिले त्यसलाई पन्छाउन सरकारका मन्त्रीहरूसँग एमालेले आग्रह गरेको छ। सरकारको काम निर्वाचन गराउनु नै रहेकाले त्यसैमा केन्द्रित रहन एमालेले आग्रह गरेको हो। 

छलफलपछि एमाले उपमहासचिव रघुवीर महासेठले चुनावी वातावरण बनाउने काम एमालेको नभई सरकारको भएकाले स्थान हद तोक्ने निर्णय हटाउन सुझाव दिएको जानकारी दिए।  नभए एमाले चुनावमा सहभागी नहुने पनि उनले बताए।

छलफलका क्रममा सञ्चार मन्त्री खरेलले सरकार स्थान हदका विषयमा लचक हुनसक्ने बताएका थिए। ‘जहाँसम्म स्थान हदका कुरा छन्। नेतृत्वको सन्दर्भमा अथवा विभिन्न नेताको सन्दर्भमा स्थान हदको सन्दर्भमा त एकातिर आयोगले काम गरिरहेको छ, अर्कोतिर सरकारले पनि त्यो काम गरिरहेको छ,’ उनले भने, ‘यहाँहरूलाई हामी के भन्न चाहन्छौँ भने चुनाव हाम्रो महायज्ञ हो, महोत्सव हो।’ निर्वाचन गराउन सरकारका तर्फबाट गर्न सक्ने र हुनसक्ने सबै लचकता अपनाउन तयार रहेको उनले बताए। 

प्रकाशित: ८ पुस २०८२ १६:०५ मंगलबार