राजनीति

बालेनलाई एमालेको चेतावनी- म एक्लै काफी छु भन्ने घमण्ड नगर्नुस्

प्रतिपक्षी दल नेकपा एमालेले बाढीपहिरो विपत्तिको समयमा सरकार प्रभावकारी उद्धार तथा राहत कार्यमा नराम्रोसँग चुकेको आरोप लगाएको छ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले विपद् व्यवस्थापनमा कमजोरी देखिएको भन्दै एक्लै काफी छु भन्ने घमण्ड नपाल्न प्रधानमन्त्री बालेन शाहलाई आग्रह गरिन्।

सांसद अर्यालले भनिन्, ‘म एक्लै काफी छु भन्ने घमण्ड नगर्नुस् प्रधानमन्त्रीज्यू ! देश र जनताको माया तपाईंलाई बढी र हामीलाई कम भन्ने हुन सक्दैन।’

सरकारले केही कामै नगरेको भन्न नखोजे पनि बेलामा छलफल, समन्वय र स्रोत परिचालन गर्न नसक्दा ठूलो क्षति हुन पुगेको उनको भनाइ थियो।

जोखिममा परेका नागरिकको तत्काल उद्धारका लागि पर्याप्त जनशक्ति, हेलिकप्टर र डुङ्गा परिचालन गर्न नसकिएको बताउँदै उनले सरकारको कार्यक्षमतामाथि प्रश्न उठाइन्।

मुलुकसँग आवश्यक उद्धार उपकरण नहुँदा अन्य मुलुकसँग सहयोग लिन हिचकिचाउन नहुनेमा सीमित निकायमा मात्रै भर पर्दा क्षति बढेको उनले उल्लेख गरिन्। तीनै तहका सरकार र स्वयंसेवी संस्थालाई एउटै सूचना र कमान्ड प्रणालीमा जोड्न नसक्नु सरकारको मुख्य कमजोरी रहेको उनको दाबी थियो।

यसैगरी, सांसद अर्यालले विपद्‌मा आफैँ पीडित बनेका स्थानीय तहलाई केन्द्र सरकारले दोष थोपर्ने काम गरेको भन्दै आपत्ति जनाइन्। ‘स्थानीय तह तहसनहस भएको छ, जनप्रतिनिधि र कर्मचारी आफैं बेपत्ता र पीडित छन्,’ उनले भनिन्, ‘परिवार गुमाएर पनि अहोरात्र उद्धारमा खटिएका तिनै स्थानीय तहलाई फर्केर ‘किन गरिनस्’ भन्नु कति शोभनीय हुन्छ ?’

नागरिकका आँसुमा राजनीतिक रङ नखोज्न चेतावनी दिँदै उनले सरकारको बचाउका नाममा पीडित नागरिकमाथि नै सामाजिक सञ्जालमार्फत अश्लील र अमर्यादित टिप्पणी हुनु खेदजनक रहेको बताइन्।

प्रधानमन्त्रीकै नामबाट सञ्चालित सामाजिक सञ्जालका आईडीहरूबाट समेत आक्रोश पोखिनु अशोभनीय भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री देशका सबै नागरिकको अभिभावक भएकाले उनको बोलीले घाउमा मलम लगाउनुपर्ने, झन् गहिरो बनाउन नहुने धारणा राखिन्।

प्रकाशित: ३० भाद्र २०८३ १५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App