राजनीति

एमालेको स्वयमसेवी दस्ता हिंसा र अराजकताका विरुद्ध हो: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको स्वयमसेवी दस्ता, नेसनल भोलेन्टियर फोर्स (एनभिएफ) कसैका विरुद्ध नभइ हिंसा र अराजकताका विरुद्ध गठन गरिएको बताएका छन्।  

एनभिएफको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राज्य संयन्त्रले मात्र जनता, जनधनको, औद्यागिक प्रतिष्ठान वा मिडिया हाउसको संरक्षण गर्न नसकेकोले स्वंयसेवी दस्ता बनाउनु परेको बताए । ‘यदी कसैले शान्ति भंग गर्न खोज्छ भन्ने हामीले रोक्नु पर्दछ । आगजनी तोडफोडको राक्षसी राज चलाउन खोज्छ भने यो फोर्सले रोक्नेछ’ अध्यक्ष ओलीले भने, ‘फोर्सले प्राकृतिक विपत्ति र जनताका समस्या समाधानमा काम गर्नेछ ।’

अध्यक्ष ओलीले फोर्स कसैको अहितका लागि नभएको बताए । फोर्सले एमालेको मात्र होइन एमालेसँग असहमत राख्नेहरुको पनि सुरक्षा गर्ने उनको भनाइ छ ।

अध्यक्ष ओलीले जेन-जीका नाममा नक्कलीहरु खडा भएर विध्वंस मच्चाएको बताए । भदौ २३ गते पानी बाँड्ने नाममा खडा भएका स्वंसेवीहरु २४ गते तोफोड र आगजनीमा उत्रिएको बताए ।  

‘हामीले गठन गरेको फोर्स यस्ता अराजकताबादी काम गर्दैन । यो कतैबाट पेइड भएर चलेको पनि होइन’ अध्यक्ष ओलीले भने ‘यसले देशमा शान्ती र राजनीतिक स्थिरताका लागि काम गर्छ ।’

प्रधानमन्त्री सुशीला कार्कीले यो सरकार असफल भए देशमा झन् ठुलो विद्रोह हुने चेतावनी दिइरहेकोमा आपत्ती प्रकट गर्दै ओलीले भने, ‘देशमा थप विध्वसं मच्चाउने तपाईंको योजना हो कि सपना हो ? तपाईंको योजना हो भने त्यो पुरा हुन दिइँदैन । सपना हो भने यस्ता विध्वसंकारी सपना देख्न छोड्नुहोस ।’

प्रकाशित: ५ मंसिर २०८२ १६:१६ शुक्रबार