राजनीति

एमालेको पोखरेल समूहको देशव्यापी समीक्षा गर्दै, पार्टीभित्रै सुधारका मुद्दा उठाउने

नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहले हालै सम्पन्न महाधिवेशनबारे देशभर व्यापक समीक्षा गर्ने निर्णय गरेको छ। आज आयोजित पोखरेल पक्षको भेलाले यस्तो निष्कर्ष निकालेको उपमहासचिव योगेश भट्टराईले जानकारी दिए।

भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले पार्टीलाई अझ एकताबद्ध र सशक्त बनाउने दिशामा भूमिका खेल्ने निर्णय गरिएको बताए। उनका अनुसार महाधिवेशनका क्रममा उठाइएका पार्टी पुनर्संरचना, नेतृत्व हस्तान्तरण, जनताको बहुदलीय जनवादको आधारमा पार्टी निर्माण तथा आन्तरिक लोकतान्त्रिकरणसम्बन्धी विषयहरू पार्टीकै विधान र कानुनी सीमाभित्र रहेर निरन्तर उठाइनेछन्।

उनले पार्टीपंक्तिलाई निराश नहुन अपिल गर्दै लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी भएकै कारण परिणामलाई सहज रूपमा स्वीकार गरिएको स्पष्ट पारे। तर प्रतिनिधि छनोटदेखि बन्द सत्रसम्मका गतिविधिमा पार्टीको लोकतान्त्रिक अभ्यासबारे गम्भीर प्रश्न उठेको उल्लेख गर्दै संरचनाको दुरुपयोग र सङ्गठन विभागजस्ता निकायमार्फत आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउने प्रयासप्रति चिन्ता व्यक्त गरिएको बताए।

पोखरेल समूहले आगामी केन्द्रीय कमिटी बैठकको एजेन्डा र निर्णयहरूको पनि सूक्ष्म समीक्षा गर्ने जनाएको छ। भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले ल्याउने सकारात्मक प्रस्तावहरूलाई समर्थन गरिने तर पार्टी एकता भङ्ग गर्ने, पक्षपातपूर्ण, गुटबन्दी र विभाजन निम्त्याउने वा व्यक्तिविशेषप्रति आंशिक व्यवहार गर्ने प्रस्ताव आएमा पार्टीभित्रै रहेर प्रतिरोध गरिने चेतावनी दिए।

आगामी निर्वाचनसहित बाह्य प्रतिस्पर्धामा पार्टीलाई विजयी बनाउने अभियानमा आफूहरू सदैव उभिने प्रतिबद्धता व्यक्त गर्दै भट्टराईले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि पुनः दोहोर्‍याए। उनका अनुसार अध्यक्षको कार्यशैलीमा हिजो, आज र भोलि पनि परिवर्तनको संकेत नदेखिएकाले वैचारिक र व्यवहारिक असंगतिविरुद्ध आवाज उठाउने क्रम निरन्तर जारी रहनेछ।

प्रकाशित: ५ पुस २०८२ १८:१५ शनिबार