नेकपा (एमाले) को एघारौं महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
बिहीबार महाधिवेशन स्थलमा आयोजित विशेष समारोहमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन्।
यसअघि अध्यक्ष ओलीले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बासमक्ष शपथ लिएका थिए।
विधानतः अध्यक्षले शपथ लिएपछि उनले बाँकी कमिटीलाई शपथ गराउने व्यवस्था अनुसार ओलीले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव, सचिवहरू तथा केन्द्रीय सदस्यहरूलाई सामूहिक रूपमा शपथ खुवाएका हुन्।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार एमालेको नयाँ कार्यसमितिमा अध्यक्ष केपी शर्मा ओली समूहको स्पष्ट बहुमत र वर्चश्व देखिएको छ।
एमालेको एघारौं महाधिवेशनमा नेतृत्व चयनका लागि अध्यक्ष ओली र अर्का नेता ईश्वर पोखरेल प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। निर्वाचन परिणाममा अधिकांश पदाधिकारी र केन्द्रीय सदस्यहरू ओली प्यानलबाटै विजयी भएका छन्।
शपथ ग्रहणसँगै एमालेको नयाँ कार्यसमिति औपचारिक रूपमा क्रियाशील भएको छ।
प्रकाशित: ३ पुस २०८२ १८:२३ बिहीबार