राजनीति

एमालेका घोषित आन्दोलन स्थगित: पार्टी स्थापना दिवस मनाउने

फाइल तस्बिर : महासचिव शंकर पोखरेल

नेकपा (एमाले) ले आफ्नो घोषित आन्दोलन स्थगित गरेको छ। शुक्रबार केन्द्रीय कार्यालयमा बसेको बैठकले यसअघि घोषणा गरिएका आन्दोलनका कार्यक्रमलाई स्थगन गर्दै पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको हो। 

महासचिव शंकर पोखरेलको अध्यक्षतामा भएको बैठकले पार्टी स्थापना दिवसमा कार्यक्रम आयोजना गर्ने निर्णय गर्नुका साथै पार्टीको यसअघि निर्धारित केही कार्यक्रमलाई संशोधनको निर्णय गरेको हो।

बैठकले सबै जिल्ला कमिटीले यही वैशाख ९ गते सबै जिल्लामा अनिवार्य रूपमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार उपत्यकाको हकमा वैशाख ९ गते दिउँसो दुई बजे केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरिनेछ।

बैठकले पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीको सन्दर्भमा यही वैशाख ७ र १२ गते गर्ने गरी तय भएका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो। अध्यक्ष ओली सर्वोच्च अदालतको आदेशमा गत चैत २६ गते हाजिरी जमानीमा रिहा भएपछि एमालेले आन्दोलनका कार्यक्रम स्थगन गरेको हो। रासस

प्रकाशित: ५ वैशाख २०८३ ०६:४० शनिबार