नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सफलताको शुभकामना दिँदै राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतालाई ख्याल गर्न सुझाव दिएका छन्।
उनले महत्त्वपूर्ण विदेश भ्रमणअघि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल र राष्ट्रपतिसँग संवाद गर्नुपर्ने भए पनि त्यसो नगरिएको भन्दै असन्तुष्टि जनाएका छन्।
आचार्यले सीमा तथा भूभागसम्बन्धी विषयमा नेपालको स्थापित अडान, ऐतिहासिक प्रमाण र राष्ट्रिय सहमतिअनुसार स्पष्ट तथा जिम्मेवार प्रस्तुति दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
उनले भनेका छन्, 'नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्ति दिनुपर्ने परिस्थिति नआओस्। लम्पसारवादको नयाँ संस्करण बोकेर नफर्कनुहोला।'
आचार्यले घोषणापत्रमा उल्लेख गरिएका रोजगारीका सपना, बहुपक्षीय कूटनीति र राष्ट्रिय हितका प्रतिबद्धता भाषण र प्रचारमा मात्र सीमित हुन नहुने बताएका छन्।
'घोषणापत्रमा उल्लेख गरिएका रोजगारीका सपना, बहुपक्षीय कूटनीति र राष्ट्रिय हितका प्रतिबद्धता केवल भाषण र प्रचारका विषय नबनून्,' उनले भने।
प्रधानमन्त्रीको भ्रमणले नेपालको स्वाभिमान उँचो राख्दै दुई देशबीच विश्वास बढाउन र नेपाली जनताका अपेक्षा सम्बोधन गर्ने ठोस आधार तयार गर्नुपर्ने उनको भनाइ छ।
'यहाँको भ्रमणले नेपालको स्वाभिमान उँचो राख्दै दुई देशबीच विश्वास बढाओस् र नेपाली जनताका अपेक्षा सम्बोधन गर्ने ठोस आधार तयार गरोस्,' सामाजिक सञ्जालमार्फत उनले भने।
उनले भ्रमणबाट फर्किएपछि उपलब्धि र समझदारीबारे संसद् तथा जनतालाई जानकारी गराउन पनि प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। 'फर्किएपछि भ्रमणका उपलब्धि र समझदारीबारे संसद् तथा जनतालाई जानकारी गराउनुहुने अपेक्षासहित सफल र फलदायी यात्राको शुभकामना!' उनले भने।
प्रकाशित: ६ मंसिर २०८३ १२:२७ आइतबार



