नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा आज (सोमबार) पार्टीको निर्वाचन आयोगले हिजो साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी विरोधको समय राखिएको छ।
आयोगका प्रमुख विजय सुब्बाका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर भोलि मतदान गर्ने तयारी छ। आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार मतदाता नामावलीमा परेको दाबी विरोधको छानबिन बिहान १० बजेसम्ममा सकिने छ। १०:१५ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ।
आयोगले बिहान ९ बजे देखि १२ बजेसम्म नै उम्मेदवारीको फारम वितरण गर्दैछ। ‘मतदाता नामावलीको दाबी विरोधमा छानबिन हुँदै गर्छ। उम्मेदवारीको फारम पनि वितरण गर्दै गर्छौं’ आयोगका प्रमुख डा. विजय सुब्बा भन्छन्, ‘उम्मेदवारी दर्ता बिहान १०:३० देखि दिउँसो १.३० बजेसम्ममा सकिनेछ।’ उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन दिउँसो २:३० बजे हुनेछ।
उम्मेदवारका विरुद्ध उजुरी दिने समय २:३० देखि आधा घण्टालाई राखिएको छ। उम्मेदवार विरुद्धको छानबिन १० मिनेटमै सक्ने आयोगले जनाएको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन साँझ ६ बजे गरिने आयोगले जारी गरेको निर्वाचन कार्य तालिकामा उल्लेख छ। हिजोदेखि सुरु भएको महाधिवेशनमा २२६३ जना प्रतिनिधि छन्।
प्रकाशित: २९ मंसिर २०८२ ०८:२८ सोमबार