नेकपा एमालेको संगठन विभागद्वारा आयोजित ‘सदस्यता नवीकरण, विस्तार तथा उत्प्रेरणा’ सम्बन्धी कार्यशाला १० बुँदे संकल्प प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ।
कार्यशालाले पार्टी संगठनलाई थप सुदृढ, सक्रिय र प्रविधिमैत्री बनाउने लक्ष्यसहित विभिन्न निर्णयहरू गरेको छ।
पारित संकल्पअनुसार एमालेले संगठित सदस्यताको अनलाइन नवीकरण कार्यलाई सम्बन्धित सदस्यको प्रत्यक्ष उपस्थितिमै तत्काल अघि बढाउने निर्णय गरेको छ।
साथै, प्रत्येक संगठित सदस्यले कम्तीमा तीन जना नयाँ सदस्य पार्टीमा आबद्ध गराउने अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
कार्यशालाले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा अन्य दलतर्फ आकर्षित भएका मतदाताहरूलाई पुनः एमालेसँग जोडिन आग्रह गरेको छ। पार्टीको प्रभाव र जनआधार विस्तार गर्न मतदातासँगको सम्बन्धलाई थप मजबुत बनाउने रणनीति पनि तय गरिएको छ।
त्यसैगरी, ‘ठिक समय एमाले समय’ भन्ने नारालाई व्यवहारमा उतार्दै पार्टीका सबै कार्यक्रम निर्धारित समयमै सञ्चालन गर्ने संकल्प गरिएको छ।
विज्ञान, प्रविधि र सामाजिक सञ्जालको अधिकतम प्रयोगमार्फत पार्टी गतिविधिलाई डिजिटल रूपान्तरणतर्फ लैजाने प्रतिबद्धता पनि कार्यशालाले व्यक्त गरेको छ।
एमालेले सदस्यता नवीकरण अभियानलाई तीव्रता दिँदै टोलदेखि केन्द्रसम्म पार्टी संरचनालाई पुनः सक्रिय र सशक्त बनाउने लक्ष्य लिएको छ।
जनसंगठनहरूको पुनर्गठन, समुदायका मुद्दामा नेतृत्वदायी भूमिका तथा नयाँ पुस्तासँग अन्तरसंवादलाई समेत प्राथमिकतामा राखिएको छ।
संकल्प प्रस्तावमा पार्टी आबद्ध परिवारका युवापुस्तालाई संगठित गर्न सम्मेलन आयोजना गर्ने, केन्द्रीय सम्पर्क समन्वय समितिलाई प्रभावकारी रूपमा परिचालन गर्ने तथा विदेशमा रहेका नेपाली युवासँग निरन्तर सम्पर्क विस्तार गरी उनीहरूको अनुभव र विज्ञता पार्टी निर्माणमा उपयोग गर्ने रणनीति पनि समावेश गरिएको छ।
संगठन विभाग प्रमुख भानुभक्त ढकालले प्रस्तुत गरेको प्रस्ताव कार्यशालाबाट सर्वसम्मत रूपमा पारित भएको हो।
प्रकाशित: २१ जेष्ठ २०८३ १७:३१ बिहीबार