राजनीति

एमालेले सार्वजनिक गर्‍यो सरकारमा रहँदाको प्रमुख उपलब्धि, ३५ वर्षको जिम्मा नलिने

नेकपा एमालेले २०४७ सालयता विभिन्न समयमा सरकारमा सहभागी हुँदा देश र जनताको पक्षमा गरेका महत्वपूर्ण कार्य तथा उपलब्धिहरूको सार्वजनिक गरेको छ।

जारी राष्ट्रिय भेलामा उपाध्यक्ष विष्णु पौडेलले एमालेले संविधान निर्माणदेखि सामाजिक सुरक्षा, भौतिक पूर्वाधार, शिक्षा–स्वास्थ्य र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरणमा खेलेको भूमिकालाई प्रमुख सफलताका रूपमा प्रस्तुत गरेका हुन्।

एमालेले आफूले नेतृत्व गरेको र सहभागी भएको सरकारका कामको मात्र जिम्मेवारी लिने तर समग्र ३५ वर्षको जिम्मेवारी नलिने स्पष्ट पारेको छ।

जसअन्तर्गत २०४७ वैशाख ६ गतेको अन्तरिम सरकारदेखि २०८२ फागुन २४ सम्म पार्टी अल्पमतको सरकारमा करिब ९ महिना, बहुमतको सरकारमा करिब ३ वर्ष, अरू दल सहभागी सरकारको नेतृत्वमा करिब ३ वर्ष ६ महिना र अरू दलको नेतृत्वमा करिब ५ वर्ष सहभागी रहेको उल्लेख गरेको छ।

विगत तीन दशकमा देशको आर्थिक परिसूचकहरूमा सकारात्मक परिवर्तन आएको एमालेको निष्कर्ष छ। २०५२ सालमा ४२ प्रतिशत रहेको निरपेक्ष गरिबी २०८० सम्म आइपुग्दा २०.३ प्रतिशतमा झरेको दाबी गरिएको छ।

यस्तै, २०४७ मा प्रतिव्यक्ति आय २०० अमेरिकी डलर रहेकोमा अहिले १५३५ डलर पुगेको र कुल ग्राहस्थ्य उत्पादन १ खर्ब २० अर्बबाट बढेर ६६ खर्ब पुगेको छ भने नेपाल मध्यमस्तरीय मानवीय विकासको सूचीमा उक्लिएको पौडेलले उल्लेख गरेका छन्।

यस्तै, एमाले सरकारको पहिचान बनेको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत २०५२ मा १०० रुपैयाँबाट सुरु भएको ज्येष्ठ नागरिक भत्ता अहिले मासिक ४,००० रुपैयाँ पुगेको जनाइएको छ। हाल ३६ लाखभन्दा बढी नागरिकले यो सुविधा लिइरहेका बताउँदै ३१ लाख श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको दाबी गरिएको छ।

यस्तै, एमालेले भौतिक पूर्वाधारको क्षेत्रमा पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति भएको जनाएको छ। २०४७ मा ८ हजार ३ सय किमी रहेको सडक सञ्जाल अहिले १ लाख १० हजार किमी पुगेको उल्लेख गरिएको छ।

यस्तै, नागढुङ्गा, सिद्धबाबा र काठमाडौं–निजगढ द्रुतमार्गका सुरुङहरूसँगै नेपाल सुरुङ युगमा प्रवेश गरेको दस्तावेजमा उल्लेख छ। पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन् भने जयनगर–जनकपुर रेल सेवा सुरु भएको पनि उल्लेख गरेको छ।

यस्तै, ऊर्जा क्षेत्रमा विद्युत् उत्पादन २२७ मेगावाटबाट बढेर ४,१२० मेगावाट पुगेको उल्लेख गर्दै ९९ प्रतिशत नागरिकमा विद्युत्‌को पहुँच पुगेको र लोडसेडिङ अन्त्य भई भारततर्फ ३,७७७ गिगावाट घण्टा विद्युत निर्यात भइरहेको दाबी गरिएको छ।

यस्तै, एमालेले साक्षरता दर ३९.६ प्रतिशतबाट बढेर ७६.२ प्रतिशत पुगेकोलाई पनि पार्टीको उपलब्धीको रुपमा उल्लेख गरेको छ। प्राथमिक तहका विद्यार्थीका लागि दिवा खाजा र छात्राहरूका लागि निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गरिएको बताइएको छ।

यस्तै, स्वास्थ्य क्षेत्रमा औसत आयु ५५ वर्षबाट बढेर ७२ वर्ष पुगेको उल्लेख गर्दै सरकारी सेवा प्रवाहलाई सरल बनाउन ‘नागरिक एप’ र राष्ट्रिय परिचयपत्रसहितको ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यान्वयनमा ल्याइएको जनाइएको छ।

यस्तै, २०७२ को विनाशकारी भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकारणमार्फत करिब ८ लाख निजी आवास र ऐतिहासिक धरहरा तथा रानीपोखरीको पुनर्निर्माण सम्पन्न गरिएको  दस्तावेजमा उल्लेख छ।

त्यस्तै,  एमालेले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गर्नुका साथै भारतसँगको नाकाबन्दीको सम्मानजनक समाधान र चीनसँग पारवहन सम्झौता गरी नेपाललाई ‘भू–परिवेष्ठित’बाट ‘भू–जडित’ राष्ट्रमा बदल्ने आधार तयार पारिएको उल्लेख गरेको छ।

प्रकाशित: २ मंसिर २०८३ १८:०९ बुधबार