नेकपा (एमाले) ले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’माथिको छलफलमा बोल्दै एमाले सांसद तथा पूर्व भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या अलग–अलग रूपमा समाधान गर्न नसकिने बताइन्। उनले दुवै समस्यालाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिइन्।
अर्यालले आफ्नो कार्यकालमा पहिलोपटक भूमि नीति र भू–उपयोग कानुन निर्माण गरिएको स्मरण गर्दै जग्गा वर्गीकरणको कार्यान्वयनले दीर्घकालीन समाधानका लागि आधार तयार गरेको बताइन्।
उनले सरकारले सुकुमवासी र भूमिहीनको समस्या समाधानका लागि ठोस पहल गरे एमालेले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाइन्। साथै, राजनीतिक स्टन्टभन्दा कानुनी र व्यावहारिक उपायमार्फत समस्या टुंग्याउन सरकारलाई आग्रह गरिन्।
‘हामीले सुकुमवासीको व्यथा बुझेका छौं। सरकार समस्या समाधानका लागि अघि बढ्छ भने आवश्यक सहयोग गर्न एमाले तयार छ,’ अर्यालले संसद्मा भनिन्।
प्रकाशित: १९ श्रावण २०८३ १७:०० मंगलबार