नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै आज पार्टीका पदाधिकारी सहितका नेताहरु सडकमा ओर्लिएका छन् ।
आज माइतीघरबाट सुरु भएको प्रदर्शनमा पार्टीका सचिवहरु भानुभक्त ढकाल, शेरधन राई, डा.राजन भट्टराई, महेश बस्नेतलगायतका नेताहरुको अगुवाइमा आन्दोलन थालिएको छ ।
सचिव बस्नेतले आज बिहानै आन्दोलनमा सबैलाई सहभागी हुन आह्वान गरेका थिए । गत शनिबार गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई गुण्डुबाट पक्राउ गरिएको थियो ।
पक्राउ परेकै दिनदेखि एमालेले प्रदर्शन गरिरहेको छ । आजको प्रदर्शन उपत्यका विशेष कमिटीले आयोजना गरेको एमालेले जनाएको छ ।
यसैबीच आन्दोलन स्थलमै सञ्चारकर्मीसँग कुरा गर्दै सचिव शेरधन राईले देशलाई मुढभेडमा धकेलेर युक्रेन बनाउने खोजिएको बताएका छन् । राईले सरकारले राजनीतिक प्रतिशोध राखेकोले आफूहरु सडकमा आउन बाध्य भएको उल्लेख गरे । जनादेशको उन्मादमा सरकारले मुलुकलाई मुठभेडतिर धेकेलेको उनले बताए । राई अध्यक्ष ओलीको रिहाइ नभएसम्म आन्दोलन जारी रहने बताएक छन् । अहिले बबर महल क्ष्क्षेत्रमा एमालेको प्रदर्शन जारी छ ।
प्रकाशित: १६ चैत्र २०८२ १४:५७ सोमबार