कोशी प्रदेशसरकार राजनीतिक संयन्त्रका संयोजक तथा नेकपा एमाले नेता शेरधन राईले प्रदेश सरकारका विवादित मन्त्रीलाई केही दिनभित्रै हटाउने बताएका छन् । बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले कोशी प्रदेशका विवादित र प्रश्न उठेका मन्त्रीलाई सरकारबाट केही दिनमै हटाउने बताए ।
उनले विवादित मन्त्रीलाई हटाउन सत्ता साझेदार कांग्रेसलाई आग्रह गरिसकेको पनि दाबी गरे । नेता राईले केही दिनभित्रै विवादित मन्त्रीहरू हटाउन कांग्रेस तयार नभएको अवस्थामा मुख्यमन्त्री आफैँले उपयुक्त कदम चाल्न सक्नेसमेत बताए । राईले भने, ‘प्रश्न उठेका र विवादित मन्त्री व्याक गरेर केही दिन भित्रै नयाँ मन्त्री नियुक्त हुन्छ, कांग्रेसले नमानेको अवस्थामा पनि मुख्यमन्त्रीले आवश्यक कदम चाल्नु हुन्छ ।’
यता सत्ता साझेदार नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्वव थापाले मन्त्री हेरफेरको विषय आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘मन्त्री हेरफेरबारे मलाई थाहा छैन ।’ थापाले आफू कांग्रेसको केन्द्रीय समिति बैठकका लागि काठमाडौं गएको र प्रदेशको मन्त्री फेर्ने विषयमा सत्ता साझेदार दल एमलेसँग कुनै कुराकानी नभएको बताए ।
कोशी प्रदेशमा कांग्रेसका तर्फबाट दुईजना मन्त्रीहरू विभिन्न घटनामा विवादित बनेका छन् । पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल सचिवालयमार्फत क्यूआर पठाएर पैसा मागेको विषयमा विवादित बनेका थिए । यस्तै उद्योग,कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङ्गाम कुटपिटलगायतका घटनामा संलग्न भएको भन्दै विवादित बनेका थिए ।
यता नेकपा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री बनेका राम राना पनि बालिकालाई गाडीले ठक्कर दिएर भागेको विषयमा विवादित बनेका थिए ।
प्रकाशित: १२ कार्तिक २०८२ १९:४५ बुधबार