नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक सुरु भएको छ।
ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो। बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनका सम्बन्धमा छलफल हुने भएको छ।
पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हिजोदेखि सुरु भएको बैठकमा आठ जना सदस्यले भाग लिएका थिए।
एमालेको विधान महाधिवेशनको पूर्वतयारीका क्रममा बिहीबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलेको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनको प्रस्ताव पारित गरेको थियो।
पोलिटब्यूरो बैठकले ती प्रतिवेदनलाई अनुमोदन गरेपछि यही साउन ५ गते सोमबार बस्ने केन्द्रीय कमिटी बैठकले त्यसलाई अन्तिम रूप दिने छ। एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ।
प्रकाशित: ३ श्रावण २०८२ १२:५४ शनिबार