नेकपा एमालेका सांसदहरुले सुशासन कायम गर्ने नाममा प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई सुझाव दिएका छन्।
आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा उनीहरुले सरकारले सुरुवाती चरणबाटै संविधान र विधिको शासन उलंघन गर्ने काम गरेको भन्दै प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सुझाव दिएका हुन्।
बैठकमा एमाले सांसद गुरुप्रसाद बरालले सरकारले नेपालको संविधान र विधिको शासनको उलंघन गरिरहेको भन्दै संविधान प्रदत्त नागरिकका मौलिक अधिकारहरूलाई स्थापित गर्नका लागि निर्देशन दिन अनुरोध गरे।
भदौ २३ र २४ को घटनालाई लिएर पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको मुद्दा खारेजजन्य रहेको उनले बताए।
अर्का सांसद यशुदाकुमारी बरालले २००७ सालदेखि जेनजी आन्दोलनसम्मका घटनाक्रमलाई लिएर सबै फाइल खोल्न आग्रह गरिन्। उनले वर्तमान सरकारले विधिको शासन उलंघन गरे धेरै ठूलो क्षति व्यहोनुपर्ने भन्दै ओली र लेखकमाथि राजनीतिक प्रतिशोध राख्ने काम नगर्न चेतावनीसमेत दिइन्।
प्रकाशित: २४ चैत्र २०८२ १७:४५ मंगलबार



