राजनीति

महेश भन्छन्- दसैं-तिहारपछि एमालेको नेतृत्वमा सडक आन्दोलन हुन्छ, बालेन सरकार ढल्छ

नेकपा (एमाले) का सचिव महेश बस्नेतले दसैं, तिहार र छठ पर्वपछि एमालेको नेतृत्वमा देशव्यापी सशक्त आन्दोलन सुरु हुने र त्यसले वर्तमान सरकार ढाल्ने दाबी गरेका छन्।

बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव बस्नेतले चाडबाडलगत्तै मधेशदेखि देशभरका सबै भू-भागमा विपक्षी दलहरूलाई समेत समेटेर सडक आन्दोलन चर्काउने चेतावनी दिएका हुन्।

उनले यो आन्दोलनबाट बालेन सरकार नराम्रोसँग पराजित हुने जिकिर गरे।

पार्टी केन्द्रीय कमिटी बैठक र अध्यक्षको राजनीतिक प्रतिवेदनमार्फत सडक संघर्षको प्रस्ताव अघि सारिएको उल्लेख गर्दै बस्नेतले आन्दोलनमा लोकतन्त्रवादी तथा वामपन्थी विचार राख्ने सबै दलहरू सम्मिलित हुने बताए।

सरकारप्रति आक्रामक रूपमा प्रस्तुत भएका उनले वर्तमान सत्ता प्रतिशोधको राजनीतिमा उत्रिएको आरोप लगाए। ‘फरक विचार राख्नेहरूमाथि धरपकड गर्ने, कारबाही र गिरफ्तारी गर्ने अधिनायकवादी चरित्र सरकारले देखाएको छ,’ बस्नेतले भने, ‘महँगी, भ्रष्टाचार र अनियमितता व्यापक बढेको छ। सरकार पूर्ण रूपमा असफल भइसकेको छ।’

विपद् व्यवस्थापनमा सरकार पूर्ण रूपमा चुकेको आरोप लगाउँदै उनले भोटेकोशीको बाढीपहिरोमा सरकारको लापर्बाहीका कारण ठूलो जनधनको क्षति भएको बताए। साथै, राहत तथा उद्धार कोषको रकममा समेत दुरुपयोग भएको उनको दाबी थियो।

‘१३-१४ अर्ब रुपैयाँभन्दा बढीको राहत तथा उद्धार कोषमा आएको रकमको ९० प्रतिशत हिस्सा हेलिकप्टर चढेरै सकियो भन्ने कुराहरू आइरहेका छन्,’ बस्नेतले भने, ‘स्टन्टबाजीमा रमाइरहेको सरकारले यो अफवाह हो कि सत्य, जनतासामु तुरुन्त स्पष्ट पार्नुपर्छ।’

एमालेविरुद्ध सामाजिक सञ्जालमा भ्रमपूर्ण भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले पार्टीको बचाउ गरे। एमालेलाई मासुभात खाने र झोले जस्ता शब्दावली प्रयोग गरेर कमजोर बनाउने प्रयास भएको उल्लेख गर्दै उनले जनताको वास्तविक आशा र भरोसाको केन्द्र अझै पनि एमाले नै रहेको दाबी गरे। 

आगामी दिनमा मुलुकको नेतृत्व गर्ने निर्णायक शक्ति एमाले नै हुने उनको भनाइ थियो।

प्रकाशित: ८ आश्विन २०८३ १८:२४ बिहीबार