राजनीति

प्रधानमन्त्री बालेन संसदीय दायित्वबाट पन्छिन खोजेको एमाले नेता योगेशको आरोप

नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई आफ्नो संवैधानिक तथा संसदीय जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै कडा आलोचना गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने दायित्वबाट भाग्न खोजिरहेको टिप्पणी गरेका हुन्।

भट्टराईका अनुसार नीति तथा कार्यक्रम र त्यससम्बन्धी छलफल संसदको मूल कार्य भएकाले त्यसमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री स्वयं उपस्थित हुनु आवश्यक हुन्छ। राष्ट्रपतिद्वारा संसदमा प्रस्तुत नीति तथा कार्यक्रम प्रधानमन्त्रीकै अवधारणा भएको उल्लेख गर्दै उनले त्यसको जवाफ दिनु स्वाभाविक र अनिवार्य दायित्व भएको बताएका छन्।

उनले प्रधानमन्त्री संसदमा उपस्थित भएर छलफलमा उठेका प्रश्न स्पष्ट पार्नु, संसद्का निर्णय र निर्देशन पालना गर्नु संसदीय लोकतन्त्रको आधारभूत अभ्यास भएको पनि स्मरण गराएका छन्। तर प्रधानमन्त्रीले यी दायित्वबाट किन पन्छिन खोजिरहेका छन् भन्ने प्रश्न उनले सार्वजनिक रूपमा उठाएका छन्।

अन्य लोकतान्त्रिक मुलुकहरूको अभ्यास उल्लेख गर्दै भट्टराईले ती देशमा प्रधानमन्त्रीले संसदमार्फत नीति घोषणा गर्ने, विशेष सम्बोधन गर्ने र विदेश भ्रमणबारे समेत जानकारी दिने परम्परा रहेको बताएका छन्। रोस्टममा उभिएर बोल्दा नेताहरूले गर्व महसुस गर्ने अवस्था रहेको भन्दै उनले नेपालको अभ्यासप्रति असन्तुष्टि जनाएका छन्।

भट्टराईले लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गरी संसदलाई छलेर अघि बढ्ने प्रवृत्ति स्वीकार्य नहुने चेतावनीसमेत दिएका छन्। उनले प्रधानमन्त्रीको व्यवहारले संसदीय लोकतन्त्रको गरिमा कमजोर हुने खतरा रहेको टिप्पणी गरेका छन्।

प्रकाशित: ३१ वैशाख २०८३ ११:१२ बिहीबार