राजनीति

सरकारलाई कटाक्ष गर्दै सूर्य थापाले भने- ओलीले बनाइदिएको रंगशालाको सुगन्ध हेर, देख, छाम र सुँघ

नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटनको सन्दर्भ जोड्दै वर्तमान बालेन सरकार र आलोचकहरूमाथि राजनीतिक व्यङ्ग्य प्रहार गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत उनले कीर्तिपुरस्थित क्रिकेट रंगशालाको आधुनिक विकास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको योगदान भएको दाबी गरेका हुन्।

उद्घाटन खेलमा लुम्बिनी लायन्सले जित हात पारेकोमा बधाई दिँदै नेता थापाले नागढुंगा-सिस्नेखोला सुरुङमार्गको सफलतापछि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला पनि एमालेकै पालामा बनेको जिकिर गरे।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता थापाले लेखेका छन्, ‘लुम्बिनी लायन्सलाई सुरुवाती विजयको लागि बधाई। नागढुंगा-सिस्नेखोला सुरुङमार्गको अपार सफलतापछि फेरि भन्नैपर्छ, तथाकथित ३५ वर्षको भर्त्सनामा बनेर बाँचेको खराने लम्पसारवादी ग्याङ हेर, देख, छाम र सुँघ पनि ! केपी शर्मा ओलीले निर्माण गरिदिएको क्रिकेट स्टेडियमको मनमोहक दृश्य एवं सुगन्ध: एनपीएल तेस्रो संस्करणको भव्य उद्घाटन।’

एमाले नेतृत्वको सरकारका पालामा देशमा ठूला पूर्वाधार निर्माणले गति लिएको दाबी गर्दै नेता थापाले वर्तमान बालेन सरकार र विरोधी पक्षले विगतका विकासलाई नजरअन्दाज गर्न नमिल्ने तर्क गरेका छन्।

प्रकाशित: ९ कार्तिक २०८३ २१:३२ सोमबार