राजनीति

कमेडियनको ‘धम्की’ आरोपपछि एमाले नेता भन्छन् ‘म जुनसुकै प्रश्न र रोस्टको सामना गर्ने दम भएको मान्छे हो’

नेकपा एमालेका नेता सूर्य थापाले ‘कमेडी बाज’ कार्यक्रमको पछिल्लो शृङ्खलामा आफूले सामना गरेको राजनीतिक व्यंग्य पछि स्ट्यान्डअप कमेडियन अमरेन्द्र यादवले धम्की आएको बताएपछि आफु आश्चर्य चकित परेको बताएका छन्। 

‘कमेडी बाज’ को १५औँ शृङ्खलामा थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा मुकुल ढकाल अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा यादवले दुवै अतिथिमाथि रोस्ट गरेका थिए भने थापासँग सवाल–जवाफसमेत भएको थियो। 

थापाले आफू यस्ता कार्यक्रमहरूमा खासै रुचि नराख्ने भए पनि कार्यक्रम निर्देशक सुन्दर खनालले पटक–पटक सम्पर्क गरी अनुरोध गरेपछि भेटेरै छलफल गरेर अतिथिका रूपमा सहभागी हुन सहमत भएको बताएका छन्। उनले उक्त कार्यक्रमको भिडियोसमेत आफूले सामाजिक सञ्जालमा शेयर गरेको बताएका छन्। 

कार्यक्रम प्रसारणपछि यादवले आफूलाई धम्की आएको भन्दै लामो स्टाटस लेखेकोप्रति थापाले आश्चर्य व्यक्त गरेका छन् । ‘जानीबुझी त्यहाँ जानु भनेको रोस्ट, टोस्ट र होस्ट सबै स्वीकार गरेर नै हो,’ भन्दै थापाले आफू जुनसुकै प्रश्न र रोस्ट सुन्न तथा सामना गर्न सक्ने बताएका छन्। 

उनले आफू र आफ्ना समर्थकहरूमा यस्ता कार्यक्रमलाई सहज रूपमा लिन सक्ने सामर्थ्य रहेको दाबी गर्दै कमेडी कार्यक्रम सन्देशमूलक नभएर सस्तो बन्ने र अनावश्यक रूपमा उडान भर्न रमाउने प्रवृत्ति भने उचित नभएको बताएका छन्। 

यता कमेडियन अमरेन्द्र यादवले आफू कलाकार भएकाले रोस्ट गर्नु आफ्नो पेसाको एउटा हिस्सा भएको बताएका छन्। तर रोस्ट गरेकै आधारमा आफूलाई गाली गर्ने, मार्ने धम्की दिने तथा व्यक्तिगत रूपमा टर्चर गर्ने काम गम्भीर विषय भएको उनको भनाइ छ।

यादवले पछिल्ला तीन–चार दिनदेखि आफू निरन्तर मानसिक दबाब र व्यक्तिगत गालीगलौजको सामना गरिरहेको बताएका छन् । यस्तो काम कसले गरिरहेको हो भन्ने आफूलाई यकिन नभए पनि व्यक्तिगत रूपमा गाली र टर्चर भइरहेको उनले बताएका छन् ।

आफूलाई ‘एमाले विरोधी’ भनिएकोप्रति पनि यादवले आपत्ति जनाएका छन्। उनले यसअघि एमालेसँग सम्बन्धित अतिथिलाई रोस्ट गरेपछि आफूलाई एमाले विरोधी भनिएको, आगामी दिनमा जेन्जी अभियन्तालाई रोस्ट गर्दा जेन्जी विरोधी र यसअघि माओवादी तथा राजावादी पक्षका व्यक्तिलाई रोस्ट गर्दा क्रमशः माओवादी वा राजावादी विरोधी भनिने हो भने आफू कसको विरोधी भन्ने नै अन्योल हुने बताएका छन्। 

यादवले आफू कुनै राजनीतिक दलको विरोधी नभई स्वतन्त्र नागरिक भएको भन्दै आफ्नो पेसा नै कमेडी भएकाले रोस्टलाई मनोरञ्जनका रूपमा बुझिदिन आग्रह गरेका छन्। 

उनले भनेका छन्, ‘मलाई व्यक्तिगत गाली नगर्नुहोस्, व्यक्तिगत रूपमा टर्चर नगर्नुहोस् र गाली तथा मार्ने धम्की नदिनुहोस्।’ 

प्रकाशित: ३ भाद्र २०८३ १२:२३ बुधबार