राजनीति

प्रधानमन्त्रीलाई ‘नायक’ को अनिल कपुर जस्तो व्यवहार नगर्न एमाले नेता रिजालको सुझाव

नेकपा (एमाले)का नेता विष्णु रिजालले अध्यक्ष केपी शर्मा ओलीको पक्राउलाई ‘प्रतिशोधपूर्ण’ भन्दै सरकारको आलोचना गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत टिप्पणी गर्दै उनले बालेन्द्र शाह नेतृत्वको सरकार आफ्नो पथबाट विचलित भएको बताएका हुन्।

रिजालले हिन्दी फिल्म ‘नायक’ मा अनिल कपुर एक दिनका लागि मुख्यमन्त्री भए जस्तो शाह एक दिनका लागि प्रधानमन्त्री नभएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘हिन्दी फिल्म ‘नायक‘मा अनिल कपुर एक दिनका लागि मुख्यमन्त्री भए जस्तो बालेन शाह एक दिनका लागि प्रधानमन्त्री भएका होइनन्। रास्वपाका नेताका रूपमा उनलाई पाँच वर्ष जनमत प्राप्त छ।’

उनले अगाडि लेखेका छन्, ‘चारपल्ट मुलुकको प्रधानमन्त्री भइसकेका, आफैँसँग भारी मतले हारेका र बुबाको काज किरियाबाट भर्खरै निस्किएका ७५ वर्षीय केपी शर्मा ओलीलाई भोलिपल्ट कार्यालय नै खुल्दैनन्, उज्यालो नै हुँदैन, प्रलय नै भइहाल्छ भने जसरी जुन रूपमा धरपकड गरियो, यसबाट उनलाई आफ्नै सरकारको आयुप्रति विश्वास रहेनछ भन्ने देखाउँछ।’

यो घटनाले मुलुकमा गहिरो विभाजन, मुडभेड र अराजकता सिर्जना हुने भन्दै उनले गैर कानुनी कदमका विरुद्ध राजनीतिक र कानुनी प्रतिवाद हुने बताएका छन्। एमाले सचिवालय बैठकले संयम र सुझबुझका साथ सही निष्कर्ष निकालेको दाबी गर्दै उनले त्यसलाई आत्मसात् गर्न आग्रह गरेका छन्।

शनिबार बिहान पक्राउ परेका ओली हाल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। उनलाई आज अदालतमा उपस्थित गराउने तयारी छ। एमालेले हिजोदेखि नै विरोध प्रदर्शन जारी राखेको छ भने आज देशभरका प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्र बुझाउने तयारी गरेको छ। 

प्रकाशित: १५ चैत्र २०८२ १०:१९ आइतबार