नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी र नेतृत्वविरुद्धको आक्रमण गत वर्ष अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेदेखि झनै बढेको बताएका छन्।
एमाले सरकारमा भएको धेरैलाई मन नपर्ने भएकोले अनेक लाञ्छना लगाएर हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाइने गरेको उन बताए। ‘कुनै बेला सरकारमा लगिदिनु पर्यो भनेर रातदिन बालकोट धाउनेहरू नै अहिले लोकप्रियताका नाममा एमाले र नेतृत्वलाई गाली गर्ने अग्रपंक्तिमा रहेका छन्,’ महासचिव पोखरेलले भने, ‘पश्चगामी सोच भएका राजावादी र कम्यूनिष्ट नामधारी माओवादी पनि एमालेलाई मात्र गाली गरेर कांग्रेससँग सम्बन्ध सुधार गर्ने प्रयासमा छन्।’
उनले यी तिनै शक्ति एमालेलाई कांग्रेसबाट अलग्याएर आफूहरू सहितको सरकार बनाउन तल्लीन रहेको पोखरेलले दाबी गरे।
महासचिव पोखरेलले भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारीमा लाग्नु पर्नेमा एकथरी नेता कार्यकर्ता पार्टीभित्र नै किताकाट गर्ने काममा संलग्न भएको बताएका छन्। ‘भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन हो राष्ट्रिय महाधिवेशन होइन। त्यसैले अहिले कुनै नेताका नाममा कित्ताकाट हुनु जरुरी छैन’ महासचिव पोखरेलले भेलालाई निर्देशन दिँदै भन्, ‘जतिबेला जे काम पर्छ त्यही गर्नुहोस। नीति र नेतृत्व निर्माणको भिन्नता नेताहरूले थाहा पाउनुहोस।’
महासचिव पोखरेलले जनसंगठनमा हालै भएका महाधिवेशनहरूका दस्तावेज केन्द्रीय कार्यलयमा साता दिनभित्र पठाउन निर्देशन दिएका छन्।
प्रकाशित: २६ असार २०८२ १३:१९ बिहीबार