राजनीति

एमाले इतिहासकै कठिन मोडमा छ, आरोप–प्रत्यारोपको साटो समाधान खोजौँ: प्रदीप ज्ञवाली

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टी अहिले इतिहासकै कठिनतम बिन्दुमा पुगेको बताएका छन्।

हालैको राजनीतिक परिस्थितिपछि पार्टीभित्र नेताहरूबीच आरोप–प्रत्यारोप बढ्न थालेको भन्दै उनले एकअर्कालाई दोषारोपण नगरी गम्भीर समीक्षा गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘हामीले एकदमै उत्कृष्ट नतिजाको अपेक्षा गरेका थिएनौँ, समय प्रतिकूल छ भन्ने थाहा थियो। तर यस्तो धक्काको अनुमान भने थिएन। फेरि पनि भन्नैपर्छ– हामी इतिहासकै कठिनतम बिन्दुमा आइपुगेका छौँ।’

ज्ञवालीका अनुसार यस अवस्थाका धेरै कारण छन्, जसमा आन्तरिक र बाह्य दुवै पक्ष जिम्मेवार छन्। कतिपय नीतिगत, संरचनागत र कार्यशैलीसँग सम्बन्धित कमजोरीहरूबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता उनले औँल्याए।

‘यी सबैको वस्तुनिष्ठ, गहन र निर्मम समीक्षा हुनैपर्छ। यस्तो समीक्षाले मात्रै हामीलाई यस कठिन अवस्थाबाट बाहिर निस्कने मार्ग देखाउनेछ,’ उनले भने।

समीक्षा नगरी अरूलाई मात्रै दोषारोपण गर्ने प्रवृत्ति बढे संकट झनै गहिरिँदै जाने चेतावनी दिँदै उनले यो समस्या केवल कम्युनिस्ट आन्दोलनको मात्र नभई समग्र लोकतान्त्रिक आन्दोलनकै चुनौती भएको बताए।

समस्या र सङ्कटलाई सामूहिक रूपमा स्वीकार गर्दै निर्मम आत्मसमीक्षा गरेर सामूहिक निर्णयलाई स्थापित गर्नुपर्नेमा उनले जोड दिएका छन्।

 

प्रकाशित: ३० फाल्गुन २०८२ १५:०७ शनिबार