राजनीति

एमाले महासचिव भन्छन्ः जेनजी आन्दोलन देशविरोधी षड्यन्त्र, ओलीमाथि दोष थोपर्ने प्रयास

फाइल तस्बिर

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध योजनाबद्ध प्रचार गरिएको आरोप लगाएका छन्। भदौ २३ र २४ गते भएका घटनाको जिम्मेवारी अध्यक्ष ओलीमाथि थोपर्ने प्रयास गरिएको उनको भनाइ रहेको थियो।

महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सरकारबाट बाहिरिए पनि एमाले नेपाली जनताको हृदयमा मजबुत रूपमा स्थापित रहेको दाबी गरे।

उनले जेनजी आन्दोलनको पछाडि राष्ट्रविरोधी, लोकतन्त्रविरोधी र गणतन्त्रविरोधी तत्वहरूको षड्यन्त्रपूर्ण गतिविधि रहेको दाबी गर्दै युवा भावनालाई भड्काउने प्रयास गरिएको बताए।

महासचिव पोखरेलले पार्टीले अब कुनै पनि षड्यन्त्रको सामना गर्दै लोकतान्त्रिक र राष्ट्रिय हितको दिशामा अघि बढ्ने सङ्कल्प गरेको बताए। सो अवसरमा पोखरेलले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनलाई संघर्ष र उत्सव दुवैको प्रतीकका रूपमा आयोजना गरिएको बताएका छन्।

‘हामी सरकारबाट बाहिरिएका छौँ, तर जनताको मनबाट होइनौँ। फेरि उठ्नेछौँ भन्ने सङ्कल्प हामीले गरेका थियौँ, र आजको ऐतिहासिक जनसभाले नेकपा एमाले कमजोर नभई अझ शक्तिशाली बनेको प्रमाणित गरेको छ,’ उनले भने।

प्रकाशित: २७ मंसिर २०८२ १४:०९ शनिबार