राजनीति

युवालाई स्वदेशमै रोजगारी दिन नसक्नु हाम्रो कमजोरी: शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विगतमा सरकार सञ्चालन गर्दा युवाहरूलाई देशभित्र रोजगारी सिर्जना गर्न नसकिएको र त्यसैका कारण असन्तोष बढेको स्वीकार गरेका छन्।

उनले राष्ट्रियता र विकासका साझा सवालमा अब लोकतन्त्रवादी तथा संविधानका पक्षधर शक्तिहरू मिल्नुपर्नेमा समेत जोड दिएका छन्।

काठमाडौं क्षेत्र नम्बर- ६ स्थित एमाले तारकेश्वर नगर कमिटीद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जनताको विश्वास जित्न नेता-कार्यकर्ताहरू जनप्रिय हुनुपर्ने निर्देशन दिए।

पार्टीले जनतासँगको सम्बन्ध सुधारका लागि जागरण अभियान सञ्चालन गरिरहेकाले जनसङ्गठनहरूलाई सोहीअनुसार परिचालित गरिएको उनले बताए।

परम्परागत कम्युनिस्ट विचारधाराबाट अब पार्टी अघि बढ्न नसक्ने टिप्पणी गर्दै उनले भने, ‘हामीले जनताको बहुदलीय जनवादका आधारमा आफ्ना नीतिप्रति जनतालाई आश्वस्त पार्नुपर्छ। मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्दै र लोकतान्त्रिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्दै नयाँ पुस्तालाई पार्टीमा जोडेर लैजान सक्नुपर्छ।’

विगतमा एमालेले सरकार सञ्चालन गर्दा आर्थिक र सामाजिक विकासलाई महत्त्व दिए पनि युवा वर्गलाई स्वदेशमै रोजगारी दिन नसक्दा असन्तोष बढेको यथार्थलाई आत्मसाथ गरेर अघि बढ्नुपर्ने पोखरेलको भनाइ थियो।

प्रकाशित: २३ श्रावण २०८३ १७:०४ शनिबार