नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना चलिरहेको छ। झण्डै आधा मत गणना भइसक्दा अध्यक्षमा केपी शर्मा ओलीले फराकिलो मतान्तर कायम राखेका छन्।
पछिल्लो मतपरिणाम अनुसार एक हजार १३९ मत गणना हुँदा ओलीले ८४३ मत पाएका छन् भने ईश्वर पोखरेलले २९६ पाएका छन्। आज बिहान सम्पन्न मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका थिए। ३६ प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए। महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता रहेका थिए।
एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहानदेखि सुरु भएको मतदान आज बिहान सात बजे सम्पन्न भएको थियो। मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएका थिए।
प्रकाशित: ३ पुस २०८२ १२:३२ बिहीबार