राजनीति

एमाले महाधिवेशन : १० समूहमा प्रतिवेदनमाथि छलफल सुरु

नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि दश समूहमा छलफल सुरु भएको छ। सात प्रदेश, उपत्यका विशेष, जनसंगठन र प्रवास गरी दश समूहले प्रतिवेदनमाथि छलफल सुरु भएको छ।  

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको संगठनात्मक, निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बा, लेखा डा. पुष्प कँडेल, अनुशासन आयोग संयोजक केशव वडाल र सल्लाहकार परिषद् संयोजक अमृत बोहोराले प्रतिवेदन पेश गरेका छन्। 

प्रतिनिधिलाई प्रस्तुत भएका प्रतिवेदनमाथि फरक मत तथा असहमति भए आ–आफ्नै समूहमा बहस गर्न अध्यक्ष केपी शर्मा ओलीले निर्देश गरे। दश समूहमा सबै प्रतिवेदनमाथि छलफल हुनेछ। प्रत्येक समूहले बहस नोट कमिटी, छलफलको प्रतिवेदन लिखित र टोली नेताले प्रतिवेदन हलमा पेश गर्न महासचिव पोखरेलले निर्देश गरेका छन्। 

त्यसैगरी बन्दसत्रले सचिव लेखराज भट्टको संयोजकत्वमा बहस नोट कमिटी गठन भएको छ। जसमा सदस्य स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटब्यूरो सदस्य सूर्य थापा, जुली महतो, केन्द्रीय सदस्य विष्णु रिजाल, निरज आचार्य र विष्णुमाया विक रहेका छन्।

प्रकाशित: २१ भाद्र २०८२ १३:५५ शनिबार