राजनीति

एमाले दस्तावेजः प्रतिगामी तत्त्वसँग सजग छौँ, गणतन्त्र रक्षार्थ सडकमै उत्रन्छौँ

नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको दस्ताबेजमा गणतन्त्रविरुद्ध प्रतिगामी तत्त्व सक्रिय रहेको र त्यस विरुद्ध एमाले सजग रहेको उल्लेख छ। एमाले महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमा यस्तो विषय उल्लेख छ। 

पूर्व राजा ज्ञानेन्द्र शाहले फागुन ७ को सन्दर्भ पारेर पुनः सत्ता लिन तयार भएको उद्घोषसहितको भिडियो सन्देश सार्वजनिक गरेसँगै प्रतिगामी र प्रतिक्रियावादी तत्त्वहरूले अस्थिरता सिर्जना गर्न खोजेको पोखरेलेको प्रतिवेदनमा उल्लेख छ। 

‘...अस्थिरता सिर्जना गर्ने उद्देश्यसहित अराजक गतिविधिहरू सुरु गर्न लागिरहेकै समयमा पार्टीले लोकतान्त्रिक गणतन्त्रका पक्षमा जागरण कार्यक्रम अघि बढाउने निर्णय ग¥यो,’ प्रतिवेदनमा भनिएको छ, ‘उक्त निर्णयअनुरूप चैत ११ गतेका दिन देशभर एकसाथ वडा स्तरमा जागरण कार्यक्रम सञ्चालन गरियो।’ 

चैत १८ गतेका दिन जिल्ला सदरमुकाममा लोकतान्त्रिक गणतन्त्रका पक्षमा प्रदर्शन तथा जागरण भेलाहरू आयोजना गरिएको पनि प्रतिवेदनमा भनिएको छ। यस्तै सहरी क्षेत्र, विशेष गरी तराईका जिल्लाहरूमा मोटरसाइकल र्‍यालीहरू निकालिएको विषय पनि उल्लेख छ। 

‘चैत १५ गतेका दिन राजावादीहरूले आगजनी, लुटपाट र हिंसा मच्चाएर आतंकको वातावरण सिर्जना गरेको काठमाडौंको तीनकुनेबाट चैत १८ गतेका दिन विशाल मोटरसाइकल र्‍याली निकालिएको थियो,’ प्रतिवेदनमा भनिएको छ। त्यसपछि पार्टी अध्यक्ष ओलीसहित केन्द्रीय नेताहरूको उपस्थितिमा देशका विभिन्न भागमा प्रदेश स्तरका जनसभाहरू आयोजना गरिएको पनि प्रतिवेदनमा उल्लेख छ। 

यस्तै जेठ १५ को गणतन्त्र दिवसका दिनबाट राजावादीहरूले काठमाडौंमा अनिश्चित कालीन आन्दोलनको घोषणासमेत गरेको विषय पनि एमाले प्रतिवेदनमा उल्लेख छ। ‘सोही दिन पार्टीले काठमाडौं उपत्यकाका पार्टी कमिटी र पार्टी सम्बद्ध जनसङ्गठनहरूको सहभागितामा बाजागाजा र सांस्कृतिक झाँकीहरूसहित उत्सवमय वातावरणमा गणतन्त्र दिवस मनाउने योजना अघि सार्‍यो,’ पोखरेलको प्रतिवेदनमा भनिएको छ, ‘भृकुटीमण्डपबाट सुरु भएको सांस्कृतिक र्‍याली शहीद गेट–रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर संक्षिप्त सम्बोधनसहित समापन भएको थियो।’ उक्त कार्यक्रमले राजावादीहरूको आन्दोलनलाई कमजोर बनाउन महत्वपूर्ण भूमिका खेलेको पनि एमालेको दाबी छ। ‘उल्लेखित कार्यक्रमका सन्दर्भमा कतिपयले सरकारमा रहेको पार्टी सडकमा आएको भनेर खिसीटिउरी गरे पनि नेकपा एमाले लोकतन्त्र र गणतन्त्रप्रति प्रतिबद्ध छ र आवश्यक पर्दा त्यसको रक्षाका लागि सडकमा उत्रिन पनि तयार छ भन्ने सन्देश दिने काम भएको छ,’ एमाले प्रतिवेदनमा उल्लेख छ।

भविष्यमा पनि राष्ट्र र जनताको हितका विरुद्धमा प्रतिगामी, प्रतिक्रियावादी र अराजकतावादीले गर्न सक्ने अराजक र आपराधिक हरकतका विरुद्धमा हाम्रो पार्टीको तर्फबाट सजगता र खबरदारी जरुरी देखिएको महासचिव पोखरेलको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: २१ भाद्र २०८२ १८:३९ शनिबार