राजनीति

एमाले उपमहासचिव ज्ञवाली मदन-आश्रित स्मृति प्रतिष्ठानको अध्यक्ष चयन

मदन–आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली चयन भएका छन्। शुक्रबार सम्पन्न प्रतिष्ठानको ३१ औं वार्षिक साधारणसभाले सर्वसम्मत रूपमा ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

प्रतिष्ठानको उपाध्यक्षमा रामेश्वर फुयाल, सचिवमा मधु तिमिल्सिना, कोषाध्यक्षमा सरोज दाहाल, सदस्यमा विदुरप्रसाद ढुंगाना, कृष्णहरि थापा, श्रीकृष्ण चापागाईं, सुदर्शन चापागाईं, सुरेशप्रसाद निरौला, दिव्याकुमारी घिमिरे र सुरेशप्रसाद चापागाईं चयन भएका छन्।

सो अवसरमा एमालेका उपाध्यक्ष गुरु बरालले मदन भण्डारीको अद्वितीय नेतृत्व क्षमता, जनसम्पर्कको शैली र विचारलाई संगठनमा रूपान्तरण गर्ने कौशलको प्रशंसा गर्दै प्रतिष्ठानले नयाँ पुस्तामा भण्डारी–आश्रितको विचारको ज्योति प्रज्ज्वलित गर्न निरन्तर लाग्नुपर्नेमा जोड दिएका छन्। प्रतिष्ठानका सदस्य विष्णु खनालले यो जानकारी दिए।

एमाले स्कूल विभाग प्रमुख एवं उपमहासचिव ज्ञवालीले मदन–आश्रितको जीवनयात्रा विचार र संगठनको संगम भएको उल्लेख गर्दै कठिन राजनीतिक परिस्थितिमा पनि उहाँहरूले मार्क्सवादी विचारलाई जनमुखी र शान्तिपूर्ण रूपमा अघि बढाएको बताए। उनले प्रतिष्ठानलाई समुदायसँगको सहकार्यमा प्राविधिक शिक्षा विस्तार तथा विश्वविद्यालयसँग सहकार्य गरी प्रविधिमैत्री शिक्षण पद्धति विकासमा प्रतिबद्ध संस्थाको रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे।

एमाले नेता कृष्ण राईले प्रतिष्ठान स्थापनाकालदेखि नै शिक्षा क्षेत्रमा दिएको योगदानको प्रशंसा गरे। पूर्वमन्त्री आनन्द पोखरेलले जलवायु परिवर्तन र डिजिटल युगको चुनौतीलाई प्राविधिक शिक्षासँग जोड्नुपर्नेमा जोड दिए। पूर्वराजदूत महेन्द्र पाण्डेले मदन भण्डारीका विचार आत्मसात नगरी सच्चा कम्युनिस्ट बन्न नसकिने उल्लेख गर्दै प्रतिष्ठानबाट उत्पादित जनशक्ति र कार्ययोजनाको स्पष्ट लेखाजोखा गर्न सुझाव दिए।

प्रतिष्ठानका कार्यवाहक अध्यक्ष रामेश्वर फुयालले प्रतिष्ठान शिक्षा बेरोजगार उत्पादन गर्ने कारखाना नभई सिर्जनशील, सीपयुक्त र आत्मनिर्भर जनशक्ति निर्माण गर्ने उपयुक्त थलो भएको बताए।

सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. दीपक अर्याललाई सम्मान गरिएको थियो। साधारणसभाले मदन भण्डारी र जीवराज आश्रितका विचार र मार्गदर्शनलाई जीवन्त राख्दै शिक्षा, विज्ञान, प्रविधि र समाज रूपान्तरणको मार्गमा प्रतिष्ठानलाई अघि बढाउने निर्णय गरेको छ।

प्रकाशित: २४ श्रावण २०८२ ०७:१६ शनिबार