राजनीति

सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय फिर्ता लिन एमालेको माग

नेकपा एमालेले वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।

एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सरकारको उक्त निर्णय आपत्तिजनक, अमानवीय र गैरजिम्मेवार भएको बताएका छन्।

उनले घर भत्काएर पुनर्वासको आश्वासन दिँदै महिनौँसम्म अनिश्चिततामा राख्ने र अहिले अस्थायी आश्रयसमेत खोस्ने सरकारको कदम संविधानप्रदत्त आवासको हक र सामाजिक न्यायको मर्मविपरीत भएको टिप्पणी गरेका छन्।

'राज्य नागरिकको अभिभावक हो, बेघर नागरिकलाई थप बेघर बनाउने निकाय होइन,' आचार्यले भनेका छन्।

भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानबाट सम्बोधन गर्नुपर्ने उनको भनाइ छ।

उनले विस्थापित सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता गरी उनीहरूका लागि सुरक्षित आवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

प्रकाशित: ११ मंसिर २०८३ ०८:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App